काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताउनुभएको छ ।
बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्नुहुँदै उहाँले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,सभापतिको भनाइ यही हो । एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो । मुलुकमा सुशासन र मुलुकमा आर्थिक समृद्धि गर्ने हो यसै विषयमा केन्द्रित भएर तपाईहरु काम गर्नुस् । हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निष्कर्ष हो ।’
उहाँले बैठकमा मन्त्रीहरुसँग सेवा प्रवाहको कुरामा नागरिकलाई बढीभन्दा बढी सेवा राम्रो ढंगले प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि गर्ने सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेर काम गर्ने कुरामा छलफल भएको बताउनुभयो ।
त्यस्तै, उहाँले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद् भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यो देशमा लोकतन्त्र छ । व्यवसायिक स्वतन्त्र छ । मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र अराजकता गर्ने कानुन विपरीत काम गर्ने जो सुकैलाई पनि दण्डित हुन्छ । जुन दिनेश त्रिपाठीमाथि घटना भएको छ यो अत्यन्तै निन्दनीय र गलत काम भएको छ । यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।’