सरकारले जनताका आवाजलाई कमजोर बनाउन खोज्यो : माओवादी केन्द्र

13

काठमाडौँ, १९ माघ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक’ प्रति नेकपा (माओवादी केन्द्र)ले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त विधेयक संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘विधेयकमार्फत् सरकार निरंकुशतातर्फ अग्रसर रहेको देखिन्छ । सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा आफूविरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले यो विधेयक प्रस्तुत गरिएको छ । सरोकारवालाहरूसँग कुनै राय, सल्लाह तथा छलफल नगरिकन स्वेच्छचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसदभित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ,’ पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले विज्ञप्तिमार्फत् भन्नुभएको छ ।

वर्तमान सरकारले आफूविरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रुपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रष्ट्याएको विज्ञप्तिमा उल्लेख छ ।

जनताको आन्दोलनको बलमा स्थापित नागरिकको विचार तथा अभिव्यक्ति स्वत्रन्तताको हक प्रतिकुल हुने गरी संसदमा पेश गरिएको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक’लाई सम्बन्धित पक्षसँगको छलफल पश्चात नेपालको संविधान अनुकुल हुनेगरी परिमार्जनसहित अघि बढाउनुपर्नेमा माओवादीले केन्द्रले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...