बेनी पुगेर प्रचण्डले भने- गल्ती भएकै हो, अब सच्याउँछौँ

33

म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ ।

माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालको राजनीतिक परिवर्तनमार्फत् जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, आफ्नो वर्ग र समुदायबाट केही टाढा हुनपुग्यौँ । म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौँ ।’

यस्तै, उहाँले पार्टीले के के राम्रा काम गर्‍यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौँ बरु पछि गएर दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौँ । अब जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौँ । अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइनेछ । ०८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिंगो पार्टीपंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।’

आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताउनुभयो ।

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत ८ वटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत् व्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ ।’

आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वायन गरिएको, गरिब किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्गलगायत महत्त्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराउनुभयो ।

यसको साथै उहाँले माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमुना काम गर्ने गरेको उल्लेख गर्दै देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थानसहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...