काठमाडौँ, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकार ढलाउनमा लागेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विपक्षमा रहिरहेका साथीहरु एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे संक्रान्ती आदि इत्यादि । एउटा गीत बजारमा आएको छ–‘ढले ढले’भन्ने अलि प्रचारमा छ । प्रायः आम रुपमा राजनीतिक नेताहरुले गाएको सुन्छु–ढल्यो ढल्यो ढल्यो..। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राति ढल्यो, ढल्यो, ढल्यो…। यो गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन ।’
साथै उहाँले ८४ सम्म यो सरकार टसमस नगर्ने बताउनुभयो । उहाँले दिनरात सरकार ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सत्ताको नाममा प्वाल पारेर फुत्त अर्को डुङ्गा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको बताउनुभयो । संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट अब मुक्त भएको पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण भएको छ । संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौँ ।’