ट्राफिक धेरै प्रविधिमैत्री भइसकेको छ, कन्ट्रोल रुमबाट हेरिरहेका हुन्छौँ : एसएसपी विनोद घिमिरे [भिडिओ]
- सविता नयाँजू
काठमाडौँ, २२ माघ । पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेको संख्या कम हुँदै गएको छ । लामो समयदेखि प्रयास र प्रभावकारी कार्यक्रमका कारण केही हदसम्म घटना न्यूनीकरणमा सफल भएका छौँ । विगतमा जुन किसिमको रेसियोमा मापसे थियो अहिले धेरै कम भएको तथ्यांकले नै देखाउँछ । चेकजाँचमा ल्याइएको केही परिवर्तनले परिणाममा सहयोग पुर्याएको छ । एउटै सेड्युलमा नगरेर परिवर्तन गर्दा परिणाम पनि राम्रो आएको छ । जस्तै, शनिबार र बिदाको दिन दिउँसो पिकनिकहरुमा गएर दिउँसै मापसे गरेर गर्ने चलन थियो । अहिले भने त्यो क्रम कम भएको छ । रातको समयमा पनि विशेष गरेर ७ देखि ८ बजेको समयमा चेकजाँचको सेड्युल सुरु गरिरहेका हुन्छौँ । त्यस कारण केही न्यूनीकरण भएको हो ।
मापसेको कारणले सवारी दुर्घटना हुनेहरुको संख्या गत २०७९/८० मा चाहिँ ६४९ वटा थिए भने त्यसमा १० जनाको मृत्यु भएको थियो । ४८ जना गम्भीर घाइते भएका थिए । ६२३ जना सामान्य घाइते भएका थिए । यता २०८०/८१ मा ६५० वटा मापसेको कारण दुर्घटना भएर १२ जनाको मृत्यु भएको थियो । ५१ जना गम्भीर घाइते हुनुभएको थियो । जुन अहिले २०८१/८२ को साउनदेखि अहिलेसम्म गर्दा ३१६ वटा दुर्घटना भएको छ । जसमा १६ जनाले ज्यान गुमाएका छन् । १७ जना गम्भीर घाइते हुनुभएको छ । ३८ जना सामान्य घाइते हुनुभएको छ । यस हिसाबले केही न्यूनीकरण भएको हो कि जस्तो लाग्छ ।
मापसेलाई अलग्गै कारबाहीको व्यवस्था छैन । तर, अहिलेसम्म आर्थिक वर्षमा २० करोड ८५ लाख बराबरको कारबाही रकम उठाइसकेका छौँ । ३ लाख २० हजार २२९ ट्राफिक उल्लंघनका घटनाहरुमा २० करोड ८५ लाख ६० हजार कारबाहीमा परेर नै राजश्व जम्मा गरेका छौँ ।
https://youtu.be/lwMTVxM_RI8
नियन्त्रण गर्ने भनेको सबैभन्दा ठुलो कुरो आफूले पनि सबै कुरामा संस्कार बसाल्नुपर्छ । ट्राफिकको डरले मात्र कम गर्न सम्भव छैन । तर, पनि कम गर्नको लागि ट्राफिक नियमको प्रचार प्रसार बढी गरिरहेका छौँ । विगतमा मापसे चेकिङ गल्लीहरुमा गरेका थियौँ । त्यतिबेला ट्राफिक प्रहरीप्रति नकारात्मक कुराहरु धेरै नै आए । तर, अहिले भित्रभन्दा पनि मुख्य सडकमै फोकस गरेका छौँ । मुख्य सडकहरुमा दुर्घटना नहोस् भन्ने हिसाबले अहिले ट्राफिक चेकजाँच गरिरहेका छौँ । अहिले दैनिक एकसय प्लस जना मापसे कारबाहीमा पर्ने गरेका छन् । कारबाहीमा परेकाहरुलाई जनचेतनामूलक कक्षाहरु सञ्चालन गरेका छौँ । विभिन्न अन्तरक्रिया गरेर एउटा संस्कार बसोस भनेर काम गर्दा धेरै प्रगति समेत भएको छ । मापसे गरेर सवारी चलाउनेको संख्या कम भएका छन् । कसैले मापसे गरेको छ भने साथीलाई ड्राभिङ गर्न लगाएर आफू पछाडि बस्ने संस्कार पैदा भएको छ ।
अहिले हामीले चेकजाँचहरु बढाउने र जनचेतनाहरु अभिवृद्धि गर्ने कामलाई बढी प्राथमिकता दिएका छौँ । मापसे बाहेक अन्य कारणले दैनिक दुई हजार प्लस कारवाहीमा परिरहेका छन् । अहिले बिदाको दिन १५ सयदेखि दुई हजार प्लस हुन्छ भने अन्य दिन दुई हजारदेखि २५ सय तीन हजारको हाराहारीमा कारबाहीहरु भएको देखिन्छ । अहिले विशेष गरेर यो महिनादेखि बढी फोकस ‘नो हर्न’ लाई लिएका छौँ । गलत प्रवृत्ति छ हर्न बजाउने । यसलाई सबैले तुरुन्तै छोड्नुपर्छ । यसमा पनि बढी कारबाही भइरहेको छ । ट्राफिक लेनहरुका सवालमा हाम्रै कन्ट्रोल रुमबाट हेरेर कुन सवारी साधनले ट्राफिक नियम उल्लघंन गरेको छ, रातो बत्तीमा गएको छ कि, पिक एन ड्रप गलत ठाउँमा गरको छ की, ढोकाहरु खुला छ की भनेर पनि मनिटरिङ गरेर कारबाही गरिरहेका छौँ । अहिले काठमाडौँ उपत्यकामा एएन पिआर अटोमेटिक नम्बर प्लेट, स्पिड जस्ता कुराहरु कार्यालयबाटै हेरिरहेका हुन्छौँ । काठमाडौँ उपत्यकामा ५५ भन्दाबढी स्पिड ठिक होइन । त्यसैले यी कुराहरुमा पनि हामी काम गरिरहेका छौँ ।
स्पिड बढीकै कारण महिनामा २० जनाको मृत्यु हुने गरेको देखिन्छ । यसमा पनि दुईपांग्रे सवारी साधनबाट बढीको मृत्यु भइरहेको देखिन्छ । साथै पछाडि बस्ने र पैदल यात्रीहरुको मृत्यु हुने गरेको छ । पुस महिनामै २० जनाले मृत्युवरण गर्नुभएको छ । माघको १ देखि १८ गतेसम्म दुई जनाको मृत्यु भएको छ । मृत्युहरु स्पिड, रातिको समयमा वा ट्राफिक नभएको समयमा सवारीमा ठोक्किएरलगायत भएर भएका छन् । दिनमा सवारी चाप बढी भएको कारणले पनि प्रायजसो दुईपांग्रे सवारी साधनहरुको स्पिड बढी देखिन्छ । त्यस्तै, सार्वजनिक यातायातहरु पनि सबैभन्दा बढी स्पिडकै कारणले कारवाहीमा परेका छन् ।
यतिमात्र होइन लेनको कुरा पनि छ । हामीले विशेष रुपमा दुई पाङ्ग्रेहरुको लागि एउटा अभियान सुरु गरेका छौ । दुई पाङ्ग्रेहरुको लागि दुई मिनेट भनेर चालकको समय लिएर कुरा गर्ने गरेका छौँ । यसबाट हामीले घटनाको विवरण पनि लिन्छौँ र यसमा मोबाइलको प्रयोग, मापसे, ओभरटेक गरेर हाँक्ने र हेलमेट नलगाएको कारण बढी दुर्घटना हुने कुराहरु प्राप्त भएको छ । यही कुराहरुलाई ध्यानमा राखेर सजक गराउन अभियानमा लागेका छौँँ । तर, चालकहरु आफैँले यस्तो संस्कार नबसाएसम्म पूर्ण रुपमा कम हुन सक्दैन ।
अहिलेको अवस्थामा सवारी चालकहरुलाई मात्र दोष दिएर हुँदैन । अहिले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने पैदल यात्रीहरु हुन्छन् । पैदल यात्रुहरुलाई पनि विशेष ध्यान दिनुपर्ने अवस्था छ । उहाँहरुले क्षति भयो भने त आफूलाई नै हो कारबाहीको कुरा पछि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
हामीले विशेष भीड हुने चोकहरुमा सामुदायिक प्रहरीको सहयोगमा पैदल यात्रीहरुलाई बाटो काट्ने तरिका सिकाउने वा सम्झाउने कामहरु पनि गरिरहेका छौँ । अहिलेको समयमा पनि यसरी सम्झाउन पर्नु भनेको त्यति सुहाउँदो होइन । त्यसकारण आफैँले बुझेर गर्नुपर्छ ।
‘नो हर्न’ अभियान ०७३ सालमा पनि चलाएका थियौँ र त्यो बेलाको दुर्घटनाको संख्या घटेको थियो र त्योबेला हामीले केही प्रशंसाहरु पनि पाएका थियौँ । यसले हामी कति सभ्य छौँ भनेर देखाउँछ । हर्न बजाउने कुरा भनेको गाली गरे जस्तो हो । जाममा बसेको बेला पनि बजाउने, कतै रोकिएको बेला पनि बजाउने यो राम्रो नभएको हुनाले अभियान चलाएका हौँ ।
अहिलेको समयमा प्रविधि अनुसार चल्नको लागि अनलाइनबाट जरिवाना तिर्न सक्ने व्यवस्था ल्याएका हौँ । अहिलेको समयमा लाइन लगाएर भौचर लिएर बस्ने कसैको समय पनि हुँदैन र यो अलि गाह्रो पनि हुन्छ । जरिवाना दुःख दिनका लागि तिराएको होइन । चालकहरुले अबदेखि यस्तो गल्ती फेरि नगरोस भनेर हो ।
ट्राफिक व्यवस्थापनमा प्रहरी पूर्ण रुपले ठिक नहोला तर एकदुई जनाको नियतका कारण सिंगो ट्राफिकलाई गाली गर्नु पनि हुँदैन । नियत र प्रवृत्ति गलत भएर चिट काट्नु राम्रो होइन । अब यसलाई कसरी हुन्छ दुःख दिउ भन्ने मानसिकता राख्नु हुँदैन । यी कुराहरुमा सच्याउन हाम्रो नेतृत्व प्रमुखबाट पनि सहजीकरण भइरहेको छ । बोली, व्यवहार, अनुशासन सुधार गर्न सुझाव दिने गरिएको छ । ट्राफिक प्रहरीहरुको बानीमा अहिले सवारी चालकहरु, सवारी धनीहरु, पैदल यात्रीहरुले विगतको तुलनामा केही फरक अनुभव गर्नुभएको छ । दुईचार जनामा सुधार नभएको होला तर धेरै सुधार भइसकेको छ ।
राजश्व संकलनकै कुरा गर्दा आर्थिक वर्ष ०८०/८१ मा ७३ करोड ५४ लाख काठमाडौँ उपत्यका प्रहरी कार्यालयले संकलन गरेको हो । हाम्रो लक्ष्य राजश्व उठाउने मात्र होइन, हामी कारबाहीभन्दा पनि सचेतना अभियान चलाइरहेका छौँ । चेकिङ भन्दा पनि शिक्षामा फोकस गरेका छौँ । सवारी चालकहरुको अनुशासनमा वृद्धि हुनु भनेको सवारी नियम पालना भएको भनेर बुझ्नुपर्छ ।
ट्राफिक प्रहरीले धेरै कारबाही गरेको भन्ने पनि लाग्न सक्छ । तर, सवारी चालकहरुले धेरै अनुशासित र नियमको पालना गर्नुभएको छ भन्ने हाम्रो बुझाइ हो । अर्को कुरा अहिले प्रविधिलाई बढी फोकस गरेका छौँ । प्रविधिमार्फत् कारबाही गरेका कारणले पनि अहिले कमी आएको हो । चालकहरुमा पनि के छ भने ट्राफिक प्रहरीहरु अगाडि देखिँदा मात्र कारवाही परिने होइन कतैबाट हेरिरहेको छ भन्ने बुझ्नुभएको छ । समयक्रमअनुसार प्रविधिमा अग्रसर हुनैपर्छ । काठमाडौँ उपत्यकामा मेयरसँग भेटेर पोलुसनको अभियान चलाइसकेको छौँ । २१९ जना पोलुसनको कारबाहीमा परेका छन् । महानगरको सहकार्यका ट्राफिक लाइटलाई डिजिटलमा रुपान्तरण गरिरहेका छौँ ।
ट्राफिक लाइटसँगै विभिन्न प्रविधिलाई सरकारले जोड दिनुपर्छ । दैनिक सवारी साधनहरुको वृद्धि कुन हिसाबले भइरहेकोछ, इन्जिनियरहरु साथै सडकहरुको अवस्था के कस्तो छ त्यसलाई ध्यान दिनुपर्ने देखिन्छ । प्रविधि र शिक्षामा जोड दिनुपर्छ ।
ट्राफिक प्रहरी कसैको दुश्मन होइन सहयात्री हो भन्ने बुझ्नुपर्छ । यात्रुको सुरक्षा मात्र हाम्रो स्वार्थ हो । छिटो पुग्नुहोस भन्ने मात्र होइन सुरक्षित पुग्नुहोस् भन्ने हाम्रो अभियान हो । ट्राफिक प्रहरीको डरले वा कारबाहीको डरले ट्राफिक नियमको पालना गर्ने मात्र होइन ट्राफिक नियमको पालना गर्ने संस्कारको विकास होस् भन्ने लाग्छ । दुर्घटनाहरु न्युनिकरण र ट्राफिक व्यवस्थापनमा सबै पक्षबाट सहयोग मिलोस् भन्ने अपेक्षा छ ।
(काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)