१२ वर्षको अध्ययनपछि बनेको हो ‘सारंग’: निर्देशक प्रशान्त तामाङ [भिडिओ]

21
  • आकांक्षा धामी

काठमाडौँ, २२ माघ । नृत्य निर्देशकको रुपमा चिनिनुभएका प्रशान्त तामाङको निर्देशनमा बनेको फिल्म ‘सारंग’ यहीँ माघ २५ गतेदेखि प्रदर्शनमा आउँदै छ । बालमनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको विषयमा निर्माण गरिएको फिल्म ‘सारंग’ माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म निर्देशक तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फिल्म ‘सारंग’माघ २५ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्म बालमनोविज्ञानमा आधारित रहेर बनेको चलचित्र हो । यो फिल्ममा गाउँको भन्दा पनि सहरको रहनसहनलाई लिएर आएका छौँ । विशेषगरी काठमाडौँ सहरलाई नै फोकस गरेका छौँ । जसमा अहिलेको समसामयिक घटनाहरुमा आधारित रहेर फिल्म बनाएका छौँ ।’

यसैगरी उहाँले कोरियोग्राफर भएपनि निर्देशकको रुपले काम गर्नु पहिलेदेखिकै इच्छा भएको बताउनुभयो । उहाँले कोरियोग्राफरलाई पहिला आफ्नो पेसा नै बनाए पनि भित्री रहरको विषय चाहिँ डाइरेक्सन नै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले आफूलाई कोरियोग्राफर वा डान्सरको रुपमा लिएको थिएँ । डान्स टिचरको रुपमा म एकदमै राम्रो थिएँ । तर, भित्री रहरको विषय चाहिँ डाइरेक्सनमा नै थियो । कोरियोग्राफीमा पनि म किन राम्रो भए भन्दा डान्सभित्र डाइरेक्सन रोज्थेँ । मैले जतिपनि रियालिटी सोहरुमा सिकाएको छु, स्टेज मार्ट्सहरु सिकाएको छु, त्यसमा केही न केही नयाँ प्रस्तुति दिएको छु ।’

यसैगरी उहाँले निर्देशकको रुपमा काम गर्दा अलि धेरै तयार रहनुपर्ने बताउनुभयो । उहाँले कोरियोग्राफी र निर्देशकको धेरैजसो काम एउटै तरिकाको भए पनि फिल्म निर्माण गर्दा पूरै टिमलाई निर्देशकले हेर्नुपर्ने भएकाले गाह्रो हुने बताउनुभयो ।

‘कोरियोग्राफी र निर्देशकको रुपमा बनाइने ड्राफ्ट लगभग एकै किसिमको हुन्छ । काम गर्ने शिलशिलामा अहिलेसम्म मैले कोरियोग्राफी गरेको डान्सलाई छि भनिएको छैन । तर, निर्देशकको रुपमा काम गर्दा अलि धेरै तयार गर्नुपर्ने रहेछ । फिल्म मेकिङमा ठुलो टिम हुन्छ । त्यस कारणले क्यामरादेखि मेकअपसम्मलाई समेत ध्यान दिनुपर्ने रहेछ । पूरै टिमलाई निर्देशकले हेर्नुपर्ने भएकाले निकै कठिन हुने रहेछ । दुई घण्टाको फिल्म बनाउँदा र दर्शकलाई होल्ड गराउन धेरै नै गाह्रो भएको थियो ।’

यसैगरी तामाङले फिल्म ‘सारंग’ बनाउँदा १२ वर्षको मेहनत लागेको बताउनुभयो । उहाँले जुनसुकै फिल्म बनाउँदा १२ वर्षसम्म काम गरेर एक करोड लगानी गर्नु सामान्य नभएको बताउनुभयो ।

‘फिल्म बनाउनका लागि जुनुन (लगनशिलता) हुनुपर्छ । त्यो जुनुन म मा छ । पहिलेपनि धेरै मेहेनत गरेर फिल्म बनाएँ । १२ वर्षपछि मैले धेरै मेहेनत गरेको छु । एक करोड लगानी भएको छ,’ उहाँले भन्नुभयो ।

साथै उहाँले १२ वर्षको समय अवधिमा एकदिन पनि आफ्नो खेर नफालेको बताउनुभयो । उनले १२ वर्षसम्म अध्ययन गरेर नै फिल्म बनाएकाले दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताउनुभयो ।

‘१२ वर्षको समय अवधिमा एकदिन पनि आफ्नो समय खेर फालेको छैन । १२ वर्षको हरेक दिन डाइरेक्सन पढें, नभए पनि स्क्रिप्टका लागि अध्ययन गरेँ । सम्पादनको पार्टपनि अध्ययन गरेँ । क्यामेरा चलाउन सिके । त्यतिमात्र नभइ एक्टिङ पनि सिके । हरेक दिन अध्ययन गरेको छु । १२ वर्षको मेहनतपछि फिल्म बनाएको छु । पक्कैपनि दर्शकहरुले साथ दिने छन् । तर, हलमा चल्छ चल्दैन त्यसको गारेण्टी दिन सक्दिन । फिल्म राम्रो बनेको छ ।’

उहाँले पछिल्लो समय एक्सनमा लबस्टोरी फिल्महरु मात्र चलेकाले आफूले फरक स्वाद दर्शकलाई दिन खोजेको बताउनुभयो । बजारमा विकाउ हुने मात्र बनाउँछु भनेर फिल्म निर्माण लाग्नु भनेको काम, कर्तव्य र इमानदार नहुनु भएको उहाँले बताउनुभयो ।

यसैगरी उहाँले नेपाली फिल्म उद्योगले यतिबेला राम्रो मोड लिइरहेको बताउनुभयो । ‘पछिल्लो समय विदेशी भन्दा नेपाली फिल्म राम्रो चलिरहेका छन् । यसले के देखाउँछ भने राम्रो पढेर वा बुझेर फिल्म बनाउँदा, त्यस्ता मेकरहरुका लागि नेपालमा सुनौलो भविष्य छ भन्ने निश्चित छ । नेपाली फिल्म उद्योगले राम्रो मोड लिएको छ । म फिल्म क्षेत्रमा सुनौलो भविष्य देख्छु । पैसाको हिसावले त्यति अगाडि नहौला तर अरु कुराहरुमा हाम्रो स्किल धेरै नै राम्रो छ ।’

यसअघि फिल्म ‘ठुलो मान्छे’ निर्देशन गरेका प्रशान्तले ‘सारंग’ फिल्मले दर्शकलाई पूरै समय बाँधेर राख्न सक्षम हुने बताउनुभयो । उहाँले श्रीमान्‌ले अधिकार जमाउन खोज्ने र सक्षम हुन खोज्ने महिलाको भूमिका समेत यसमा देख्न सकिने बताउनुभयो ।

‘फिल्ममा ठुलो कुरो केही छैन तर फिल्मले दर्शकलाई पूरै समय बाँधेर राख्न सक्षम छ,’ उहाँले भन्नुभयो, ‘फिल्मको महत्त्वपूर्ण कुरो त्यही हो । श्रीमान्‌ले अधिकार जमाउन खोज्ने र आर्थिक रूपमा सक्षम हुन खोज्ने महिलाको भूमिका समेत यसमा देख्नुहुन्छ ।’ -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...