काठमाडौँ, २२ माघ । चलचित्र ‘लाज शरणम्’का कलाकार अर्जुन घिमिरे (पाँडे)ले आफूहरूको चार वर्षको मेहनतपछि चलचित्र बनेको बताउनुभएको छ । सिनेमाको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनेको उहाँको भनाइ छ ।
‘लाज शरणम्’ ले कर्णालीका आम नागरिकको कथा भन्ने उहाँले बताउनुभयो। उहाँका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाइने उहाँ बताउनुहुन्छ ।
डार्क कमेडी फर्ममा कथा भन्ने उहाँले प्रष्ट पार्नुभएको छ । ‘डार्क ह्युमर कमेडी फर्मममा कसरी हसाउँदा हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले सिनेमाको यो कथा भनेका छौँ,’ अर्जुन भन्नुहुन्छ, ‘हामीले हाम्रो करियरको यो लामो समय टेलिचलचित्रमार्फत् दर्शकलाई हसायौँ । अब सिनेमामार्फत् हसाउने प्रयास गर्दै छौँ ।’
टेलिचलचित्रमा जस्तै चलचित्रमा पनि दर्शकको साथ रहनेमा आफूहरू ढुक्क रहेको उहाँ बताउनुहुन्छ । ‘सक्किगोनि’का अरु कलाकार फरकफरक लुक्स र चरित्रमा देखिए पनि ‘लाज शरणम्’मा अर्जुन भने पाँडेकै चरित्रमा देखिनेछन् । दर्शकले अहिले आफूलाई यही क्यारेक्टरमा मन पराइरहेकाले यही सिनेमामा पनि राखिएको उहाँको भनाइ छ ।
अहिले अरु क्यारेक्टर चलचित्रमा गरे पनि पाँडेले अर्कै क्यारेक्टर गरेछ भनेर दर्शकले भन्ने अवस्था रहेकाले यही नै सिनेमामा रहेको उहाँ बताउनुहुन्छ । छोटो तर प्रभाकारी चरित्रमा आफू रहेको अर्जुनले सुनाउनुभयो ।
‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता पनि हुनुहुन्छ । कुमार कट्टेल (जिग्री) लेखक तथा निर्देशक हुनुहुन्छ । पोस्टर र टिजर दुवै दर्शकले मन पराउँदा सिनेमाले पनि मन जित्नेमा निर्माणपक्ष ढुक्क छ ।
‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस)सँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणु योगी, कमलमणि नेपाल, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य ‘मुन्नी’लगायत कलाकार छन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।