काठमाडौँ, १८ चैत । नेकपा (एमाले)ले चितवन–२ मा हुने उपनिर्वाचनमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
खनाल मंसिर ४ को उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट पराजित भएका थिए । बारा–२ मा कसलाई उठाउने भन्ने विषयमा बैठकले निर्णय नगरेको गुरूङले बताए ।
गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो भने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र रिक्त भएकाले उपचुनाव गरी पदपुर्ति गर्न लागिएको हो ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही २० गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ ।