काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो व्यङ्ग्य गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘रमाइलो दृश्य संसद् सुरु हुनेबित्तिकै देखिन थालियो । जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको र्याङख्याङ आज मिलेको देखियो वास्तवमा नै रमाइलो छ ।’
त्यस्तै, उहाँले प्रचण्डले अध्यादेशलाई निकै आक्रमण गरे पनि संशोधन गरिएका कानुनको दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि र नागरिक अधिकार खोस्छ भन्ने कुराको उदाहरण दिन नसकेको बताउनुभयो । प्रचण्डले संसदमा आफ्ना कुण्ठा अभिव्यक्त गरेको आरोप लगाउँदै उहाँले संसद् कुण्ठा अभिव्यक्त गर्ने थलो नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । छ वटा अध्यादेशमा २९ वटा कानुनहरुको संशोधन प्रस्ताव अगाडि सारिएको छ । तर, ती संशोधन गरिएका कानुनको दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि पुग्छ ? कुन दफाले नागरिक अधिकार खोस्छ ? एउटा पनि उदाहरण दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद हुँदैन ।’