काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेस हुने बताउनुभएको छ ।
बुधबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरुसमेत भोलिको संसद्मा पेश हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भोलि अध्यादेश पारित हुने गरी पेस हुनेछ । विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने कुरा गर्नुभएको छ त्यो स्वभाविक कुरा नै हो । सुन्ने र विशेष समयलगायत केही विषय हुन्छन् । सरकारका तर्फबाट मान्य स्वास्थ्यमन्त्रीले केही विषयहरुमा छलफल राख्ने हाम्रो तयारी छ । केही महत्त्वपूर्ण विषयहरु र प्रतिवेदनहरुमाथि छलफल हुने छ । विशेषगरी भ्रष्टाचारसम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेस गर्ने छौँ ।’
साथै, उहाँले गत शुक्रबार बसेको संसद्को बैठकमा रास्वपाले मर्यादा भंग गरेको बताउनुभयो । उहाँले यसरी मर्यादा भंग हुँदा नेपालको संसद्को काम प्रक्रियाको बारेमा दुःखद् चित्र बाहिर सार्वजनिक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विशेषगरी अस्तिको पहिलो बैठकमा हाम्रो के प्रचलन छ भने कतिपय कुराहरु संसद्भित्र गर्दैगर्दाखेरी कार्यव्यवस्थामा छलफल गर्ने र कार्य व्यवस्थामा छलफल हुन सकिएन भने सम्माननीय सभामुखज्यूलाई बैठकपूर्व नै कतिपय विषयवस्तुहरुका बारेमा जानकारी दिने हाम्रो संसदीय अभ्यास र परम्परा हो । तर, पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एकाएक जसरी उहाँहरुले संसद्को बैठकमा उभिएर बैठकको मर्यादा भंग गरेको कुरा र सभामुखले पटक पटक रुलिङ गर्दा पनि त्यसलाई अस्वीकार गर्ने, सभामुखको आदेशलाई नमान्ने जुन ढंगबाट प्रस्तुत भएको हामीले देख्यौँ त्यसले नेपालको संसद्को काम प्रक्रियाको बारेमा दुःखद् चित्र बाहिर सार्वजनिक भएको छ ।’