नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

45

काठमाडौँ, २४ माघ । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछुतको विरुद्धमा हामी सधैँ रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेद्‌भाव विरुद्धको हक एवम् व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील रहेको भन्दै यस विषयमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेहा रौनियार र सत्यन्द्ररामबीच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासोहरु र सदनमा सदस्यहरुले उठाउनुभएको विषयमा मेरो ध्यान गम्भीर रुपले गएको छ । यस विषयमा म र मेरो मन्त्रालय संवेदनशील रहेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेद्‌भाव विरुद्धको हक एवम् व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ । म अत्यन्त धेरै संवेदनशील छु । म कुनै पनि प्रकारको जातिय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु र रहेको छु । म यसमा अहिले पनि र जीवनभर प्रतिबद्ध रहेको कुरा जानकारी गराउन चाहन्छु ।’

यसका साथै उहाँले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको लागि विद्यार्थी कालदेखि नै लड्दै आएको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रह भयो भन्नु मेरो जीवनमूल्य र आदर्शप्रति नै अवमूल्यन हो भन्ने ठानेको छु । अन्तरजातीय विवाहबारे देशमा पटक पटक विषय उठ्ने गरेका छन् । अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको छ उक्त कानुनी विषयलाई कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालय हो । गृह मन्त्रालय कानुनी व्यवस्थालाई अक्षरस कार्यान्वयन गराउन प्रतिबद्ध छ ।’

उहाँले आफू मात्र होइन आफ्नो पार्टी नेपाली कांग्रेस पनि जातीय विभेद र छुवाछुतविरुद्ध रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...