मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदै छ : प्रदेश प्रहरी

32

कर्णाली, १३ कात्तिक । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका ४ जनाको बिभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाका अनुसार घटना गत बुधबार राति भएको अनुमान गरिएको छ । घटना कात्तिक ८ गतेको भए पनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्‍यायो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएका मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अड्को थापेपछि आजका दिनसम्म उनीहरूको शव परीक्षण हुन सकेको छैन ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट डिएसपी थापासहितको अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभइ सामूहिक हत्या भएको आशंका गरी ४ दिनदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्युरो टोलीले तालिमप्राप्त कुकुरसहित खोज अनुसन्धानलाई तीव्र बनाएको छ । जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु गएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल घटनास्थलमै रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

घटना भएको सिंगो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि हालसम्म खास तथ्य भने प्रहरीले भेटाउन नसकेको बताइएको छ । प्रवक्ता भट्टराईका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिहरूमा यसलाई प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन् । अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशंकामा समातेर सोधपुछ गरिएको छ । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले समेत घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न सकेको छैन ।

घटनाको प्रकृति हेर्दा श्रीलेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने मनसायले हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । ढोकामा नयाँ ताल्चा लगाइएको तर घटनापश्चात् कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपकलाई उनकी श्रीमतीले प्रयोग गर्दै आएको मोबाइलको म्यासेन्जरबाट छोराछोरीको शवसहितको फोटो पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँदछ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिको ठोस प्रमाण फेला पारिनसकेको बताएको छ । घटना अनुसन्धान कार्य जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाइने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दाबी गरेको छ ।

एसएसपी भट्टराईले विविध कारणले शव परीक्षणमा ढिलाइ भए पनि अब यो कार्य नरोकिने र अनुसन्धानलाई सुक्ष्म ढंगले अगाडि बढाइने जानकारी गराए ।

सम्बन्धित समाचार

मुगु सामूहिक हत्याकाण्ड : शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

मुगु सामूहिक हत्याकाण्ड : हत्याराको नजिक पुग्दै प्रहरी

मुगु घटना : चारै जनाको शव पोस्टमार्टमका लागि गमगढी ल्याइयो
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो

Share This:
सम्बन्धित खबर
Loading...