- सुरेश झा
जनकपुरधाम, २ जेठ । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र एक हजार ५०४ जना एचआइभी÷एड्सका बिरामी छन् ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा कूल चार हजार ६८० जना एचआइभी सङ्क्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा छन् । प्रदेशअन्तर्गत धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना सङ्क्रमित रहेका छन् ।
निर्देशनालयका एचआइभी/एड्स फोकल पर्सन राजवीर यादवका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मधेस प्रदेशमा १४ हजार जनाको एचआइभी परीक्षण गरिएको थियो । उक्त सङ्ख्या बढेर आर्थिक वर्ष २०८१/८२ सम्ममा ७६ हजार ७९२ पुगेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ४००, २०७७/७८ मा ४७५, २०७८/७९ मा ६७५, २०७९/८० मा ६०६, २०८०/८१ मा ५१० तथा २०८१/८२ मा ४७९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा १६ जना गर्भवती महिलामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । समयमै परीक्षण तथा उपचार नभए आमाबाट शिशुमा समेत सङ्क्रमण सर्न सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
मधेस प्रदेशमा १८ वर्षमुनिका १७५ बालबालिकामा एचआइभी सङ्क्रमण रहेको छ । तीमध्ये ४७ जना एकल अभिभावकविहीन तथा २० जना पूर्ण अनाथ रहेका छन् । सङ्क्रमित बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पोषणका लागि मासिक रु एक हजार नगद सहायता उपलब्ध गराइँदै आएको छ ।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.प्रमोदकुमार यादवले खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषधको प्रयोग, असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको बताउनुभयो ।
प्रदेशमा हाल १० वटा सरकारी तथा एउटा गैरसरकारी एआरटी केन्द्र सञ्चालनमा छन् । एचआइभी परीक्षण तथा परामर्श सेवा, भाइरल लोड परीक्षण तथा प्रारम्भिक शिशु परीक्षण सेवा आठै जिल्लामा उपलब्ध छ ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट नियन्त्रणका प्रयास भइरहे पनि समस्या समाधानमा अपेक्षित सुधार नभएको सर्लाहीका जनस्वास्थ्य अधिकृत नवलकिशोर झाले बताउनुभयो । –रासस