मुगु घटना : चारै जनाको शव पोस्टमार्टमका लागि गमगढी ल्याइयो

62

मुगु, १२ कात्तिक । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एकी छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।

मतावस्थामा फेला पर्नेमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने बताए ।

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायानाथ रारा–६ का वढाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो ।

शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेततिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको जनाइएको छ ।

सम्बन्धित समाचार
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो

Share This:
सम्बन्धित खबर
Loading...