मुगु, १३ कात्तिक । मन्दु गाउँमा ३ सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।
कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्त्पूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो ।
“हामीले महत्त्वपूर्ण प्रमाण भेटाएका छौँ । हामी अहिले शंका लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौँ । अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको सत्यतथ्य र प्रमाणित प्रमाण जुटेपछि नियन्त्रणमा लिइ हामी तपाईंहरूलाई जानकारी दिन्छौँ । अहिले सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ । यति भनौ हामी हत्यरा नजिक नजिक पुगेका छौँ,” प्रहरी नायब उपरीक्षक थापा भन्छन् ।
उनका अनुसार हत्या गरिएका चारै जनाको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहरको शव घरभित्रै फेला परेको थियो । उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो ।
मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति सामूहिक हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।
मृतकका श्रीमान् दीपक बोहोरा वैदेशिक रोजगारीमा कतार रहे पनि घरमा श्रीमतीसहित छोराछोरीको हत्या भएको खबर पाएपछि शुक्रबार राति काठमाडौँ विमानस्थल ओर्लेर आइतबार मुगु पुगेका थिए ।
सम्बन्धित समाचार
मुगु घटना : चारै जनाको शव पोस्टमार्टमका लागि गमगढी ल्याइयो
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो