मुगु सामूहिक हत्याकाण्ड : शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

149

मुगु, १३ कात्तिक । मुगुमा तीन बालबालिकासहित ४ जनाको सामूहिक हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

आइतबार मध्यान्ह जिल्ला सदरमुकाम गमगढीस्थित बजार (नगरपालिका जाने बाट) नजिकैबाट प्रहरीले हत्यामा संलग्न भएको हुनसक्ने आशंकामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको परिचय गोप्य राखेको छ ।

अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो । अहिलेसम्म घटनाको विषयमा कुनै ‘क्लु’ भने पत्ता नलागेको उनले बताए ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित विशेष टोली खटिएको छ । कुकुरले पनि कुनै संकेत दिन नसकेको प्रहरीले जनाएको छ ।

अनुसन्धानलाई सघाउन आइतबार कर्णाली प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक भीम ढकाल पनि मुगु पुगेका छन् । उक्त घटनाको विस्तृत विवरण बुझ्न, अनुसन्धानमा कति नजिक पुग्यो र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् ।

शुक्रबार छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहरको शव घरभित्रै फेला परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...