लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

1
  • नवीन पौडेल

काडमाडौँ, २ जेठ । हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ ।

सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेको यो गाउँ परम्परागत संस्कृति, मौलिक जीवनशैली र आत्मीय आतिथ्यका कारण लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै छ ।

कच्ची सडक पार गर्दै जिपमार्फत गाउँ पुग्दा बाटोभरि देखिने हरिया पहाड, खोल्साखोल्सी र ग्रामीण जीवनशैलीले जो–कोही यात्रुलाई मोहित गराउँछ । गाउँ छिर्नासाथ ढुङ्गाले छाएका घर, आँगनकै छेवैमा सुकाइएका मकैका झुत्ता, फूलबारी र परम्परागत पहिरनमा देखिने स्थानीयले आगन्तुकलाई स्वागत गरिरहेका भेटिन्छन् ।

क्व्होलासोथार गाउँपालिका उपप्रमुख यमिमाया गुरुङका अनुसार भुजुङमा हाल ३६२ घरधुरी छन् भने ३३ घरमा होमस्टे सञ्चालनमा छन् । “भुजुङ पर्यटकको रोजाइमा पर्न थालेको छ”, उहाँले भन्नुभयो, “विशेषगरी गुरुङ संस्कृति, मौलिक परिकार र प्राकृतिक जीवनशैली अनुभव गर्न आउने पर्यटकको सङ्ख्या बढिरहेको छ ।”

गुरुङका अनुसार घरबास कार्यक्रमले गाउँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । घरबास (होमस्टे)बाट प्रत्यक्ष लाभ लिने घरधुरी मात्रै होइन, छिमेकीसमेत कृषि उत्पादन, स्थानीय परिकार, हस्तकला तथा अन्य सेवामार्फत लाभान्वित भइरहेका छन् ।

गाउँमा अधिकांश खाद्यान्न अर्गानिक उत्पादन हुने गरेको छ । खेतबारी घर नजिकै रहेकाले होमस्टेमा बस्ने पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पस्किने गरिएको छ । स्थानीयको मुख्य पेसा कृषि र वैदेशिक रोजगारी भए पनि पछिल्ला वर्षमा पर्यटन व्यवसाय आयआर्जनको महत्त्वपूर्ण आधार बन्दै गएको उपप्रमुख गुरुङले बताउनुभयो । गाउँपालिकाले भुजुङको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास, जनचेतना तथा स्थानीयको क्षमता अभिवृद्धिमा सहकार्य गरिरहेको उहाँको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि भुजुङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग गर्दै आएको स्थानीय बताउँछन् । सरसफाइ अभियान, पर्यावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत गाउँलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीका अनुसार आयोजनाले यस क्षेत्रको जैविक विविधता संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारका लागि काम गर्दै आएको छ । “पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो । आयोजनाले लघुजलविद्युत् सञ्चालन, चियाबारी व्यवस्थापन तथा सरसफाइ अभियानमा स्थानीयलाई सहयोग गर्दै आएको छ । “गाउँलेसँग हातेमालो गरेर वातावरण संरक्षण र पर्यटन विकासमा सँगसँगै काम गरिरहेका छौँ”, रेग्मीले भन्नुभयो ।

स्थानीयवासी गाउँ छाडेर बाहिर बसाइँ सर्नेक्रम अन्यत्रभन्दा कम रहेको पनि यहाँको विशेषता हो । गाउँमै कृषि, पर्यटन र अन्य साना व्यवसायबाट आयआर्जनको अवसर बढ्दै गएपछि अधिकांश स्थानीय आफ्नै ठाउँमा सक्रिय देखिन्छन । भुजुङका होमस्टे सञ्चालक हुमकुमारी गुरुङले पाहुनालाई गाउँकै उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरिएको बताउनुभयो । “ढिँडो, कोदोको रोटी, लोकल कुखुरा, माछा, खसी, गाउँकै सागपात, निगुरो र अचार पाहुनाले मन पराउनुहुन्छ”, उहाँ थप्नुहुन्छ, “स्थानीय स्वाद र आत्मीय व्यवहारकै कारण धेरै पाहुना फेरिफेरि आउनुहुन्छ ।”

भुजुङ केबल प्राकृतिक सौन्दर्यका कारण मात्र चर्चित छैन, यो गाउँ गुरुङ संस्कृतिको जीवित सङ्ग्रहालयका रूपमा पनि परिचित छ । यहाँ स्थानीय लोपोन्मुख सांस्कृतिक नृत्य अझै जोगाइएका छन् । विशेष अवसर र पर्यटकीय मौसममा स्थानीय युवा तथा अग्रज मिलेर सांस्कृतिक प्रस्तुति देखाउने गर्छन् । स्थानीय लालीगुराँस युवा क्लबका अध्यक्ष नौराजगुरुङका अनुसार असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखमा पर्यटकको चाप बढी हुन्छ । “सिजनमा घरबास भरिभराउ हुन्छ”, गुरुङ भन्नुहुन्छ, “विदेशीभन्दा आन्तरिक पर्यटक अहिले बढी आउन थालेका छन ।”

भुजुङ पुगेका पर्यटकलाई गाउँको शान्त वातावरण, गुरुङ संस्कृति र आतिथ्यले आकर्षित गर्ने गरेको छ । काठमाडौँबाट घुम्न आउनुभएका सरस्वती गोतामेले गाउँमा पुग्दा आफूले पुरानो नेपाली जीवनशैली नजिकबाट अनुभव गर्न पाएको अनुभव सुनाउनुभयो ।

“यहाँको वातावरण निकै शान्त र स्वच्छ छ, सहरको भीडभाडबाट टाढा केही दिन बस्नका लागि भुजुङ उत्कृष्ट गन्तव्य रहेछ”, उहाँले थप्नुभयो । व्यवस्थित सडक हुने हो भने यहाँ पर्यटकको चाप बढ्ने उहाँको धारणा छ ।

गाउँमा कृषिकर्म पनि चलिरहेको छ । गाउँमा प्रायः सबै मानिस व्यस्त रहेन गरेका छन् । कोही खेतबारीमा गोडमेल गर्दै गरेका त कोही हस्तकलाका सामग्री बुन्ने काममा समेत व्यस्त देखिन्छन् । बाँस, निगालो र ऊनबाट बनाइने सामग्रीले गाउँको मौलिकता झल्काउँछ । गाउँमा पर्यटन प्रवर्द्धनसँगै सडक, सञ्चार र खानेपानीजस्ता पूर्वाधार विस्तार हुँदै गए पनि स्थानीयले मौलिकता जोगाउन प्रयास भने गरेका छन् ।

प्राकृतिक सुन्दरता, गुरुङ संस्कृतिको जीवन्त अभ्यास, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण भुजुङ अहिले लमजुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । सहरको कोलाहलबाट केही समय टाढा रहेर गाउँको मौलिक जीवन अनुभव गर्न चाहनेका लागि भुजुङ आकर्षक रोजाइ बनेको छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...