मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो

101

मुगु, ११ कात्तिक । मुगुमा भएको घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । हिजोदेखि घटनास्थल सुरक्षित राखेर प्रहरीले आज बिहानदेखि अनुसन्धान गर्ने र शव उठाउने तयारी गरेको छ ।

शुक्रबार बिहान ९ बजे फेला परेको ४ जनाको शव अझै उठाइएको छैन । अपराध अनुसन्धानमा क्राइम सिन विश्लेषण महत्त्वपूर्ण मानिन्छ । त्यसैले प्रहरीले अनुसन्धानमा ‘मिस लिड’ नहोस् भनेर सुरक्षा दिएर शव र घटनास्थल सुरक्षित राखेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीम ढकालका अनुसार सुर्खेतबाट विशेष अनुसन्धान गर्ने वरिष्ठ प्रहरी नायब उपरीक्षक नारायण शर्माको नेतृत्वमा ५ सदस्यीय प्रहरी टोली र अर्को एक टोली अनुसन्धान गर्न मुगु गएको छ ।

शुक्रबार मन्दु गाउँमा एकी परिवारका आमासहित २ छोरा र एक छोरी मृतावस्थामा फेला परेका थिए । मृतावस्थामा फेला पर्नेमा छायाँनाथ रारा–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर रहेका छन् ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्त सोही वडास्थित कोटिल्ला माइत गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेततिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...