- सङ्गीता राई
गैरी गाउँको ढोडे ना उखु, भाचौना भाँचौँ लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।।
सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौँ ।
दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।।
आज बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै छ । धरान उपमहानगरपालिका–१३ का करुणा किराती भन्नुहुन्छ, “उँभौली साकेला हाम्रो संस्कृतिसँग जोडिएको छ, साकेलाले हामी जस्तो नयाँ युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृतिप्रतिको सम्मानबारे पनि सचेत बनाउँदै आएको छ ।”
त्यसैले साकेलाको समयमा हामी सधैँ झैँ साथीसँग आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको उहाँ सुनाउनुहुन्छ । आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्वहरु हामीले बिर्सिनु हुन्न भन्ने हिसाबले पनि प्रत्येक महिनामा मनाइने उँभौली र उँधौली हामी नाच्ने गरेका छौँ ।
देशभर भूमेस्थानमा पूजा आराधना गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरू भएको साकेला किरात राई समुदायले प्रत्येक वर्ष मनाउने गरेको साकेला आज धरान उपमहानगरपालिका–१७ स्थित साकेला पार्कका हर्सोउल्लासका साथ समापन गरिँदै छ । उँभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजक अर्थात् नेपालका किरात समुदायभित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध चाडको रुपमा लिइन्छ ।
दौरासुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गरगहनामा सजिएका युवती हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाच्न व्यस्त छन् । अहिले साकेला थानमा युवापुस्ताकै बाक्लो उपस्थिति देखिन्छ ।
साकेला प्रशिक्षक विवेक राई भन्नुहुन्छ, “एक दशकभन्दा बढी भयो साकेला नाच्न सुरू गरेको, हामी सानो हुँदा बाजेले साकेलाको बेला कसरी पूजा गरिन्छ र साकेला कसरी नाचिन्छ भन्ने कुरा सबै सिकाउनुहुन्थ्यो ।”
वैशाख पूर्णिमाका अवसरमा १५ दिनदेखि एक महिनासम्म साकेला उँभौली पूर्वका विभिन्न ठाउँमा मनाइन्छ । ढोलझ्याम्टा, हातमा च्याम्बर लिएर साकेला नाच्दै किरात राई समुदायले उँभौली चाड समापन गर्दै छन् । वैशाख १८ गते धरान उपमहानगरपालिका १४ विजयपुर स्थितकिरातको विरासत बोकेको हाङ बुद्धिकर्ण राईको दरबारक्षेत्रमा ढोल झ्याम्ता पुकाई पूजाआजा गरी सुरू गरिएको साकेला अहिलेसम्म विभिन्न वडाहरुले २६ भन्दा बढी कार्यक्रहरु सम्पन्न गरिसकेपछि आज किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा वडास्तरीय साकेला सिली प्रदर्शनीसाथै प्रकृति पुच्दै साकेला उँभौली समापन गर्न लागिएको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
साकेला समापनको अवसरमा सहभागीहरु सांस्कृतिक भेषभूषामा सजिएका छन् । साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरू गरिन्छ । साकेला उँभौली, उँधौली विशेषगरी नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपन्क्षीको क्रियाकलापलाई चित्रण गर्दै साकेला सिली नाच्ने परम्परा रहिआएको छ । साकेला चाड र साकेला नाचको सुरुवातका विषयमा विभिन्न ठाउँअनुसार फरकफरक मिथक र बुढापाखाहरुको भनाइहरु पाइन्छन् ।
साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ, जसलाई आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडका रुपमा लिने चलन किरात समुदायमा रहिआएको छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुष मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ ।
विशेषगरी यसको सुरुवातका विषयमा किरात समुदायमा ठाउँअनुसार आ–आफ्नै तर्क र भनाइहरू भेटिन्छन् । यद्यपि, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्तीमा उल्लेख भएको भेटिन्छ । पछिल्लो समय साकेला टोलटोलमा र चोकचोकमा नाच्ने प्रचलन उत्तिकै बढेको छ ।
वैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरू भएपश्चात् चिसो भू–भागतर्फ पनि तातो हुँदै जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिसलगायत गाई बस्तुगोठ पनि माथितिर सार्ने थाल्ने चलन अहिले पनि छ । चिसोयामको सुरुवातसँगै बासस्थान तलतिर सर्ने र तातो मौसम सुरू हुँदा माथि लाग्ने जीवनशैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसमअनुसार तल (उँधो) वा (उँभो) बासस्थान सर्ने चलन थोरै नै भए पनि नेपालका केही भागमा अझै पनि यथावत् नै रहेको बुढापाखाहरुको भनाइ छ ।
विशेषगरी बाली लगाउनु अघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उँधौली एक दिन मनाइन्छ भने वैशाख पूर्णिमाका दिनदेखि सुरू भएको उँभौली झन्डै एक महिनासम्म मनाइन्छ ।
उभौली विशेष गरी तराई वा मधेसतिर गर्मी बढ्दै जादा माथिल्ला पहाडी र हिमाली भूभागहरुमा समेत मौसम तातिँदै जान्छ । यसरी गर्मी बढ्दै जादा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस पनि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ । यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदायद्वारा मनाइने यस चाड ‘उँभो’ शब्दबाट प्रेरित भएर ‘उँभौली’ को नामले चिनिने तथा मनाइने गरिएको भनाइ छ ।
यस दिनलाई किरात समुदायले सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गरेका छन् । सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको किरात समुदायभित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बूलगायत जातिहरूले यस उँभौली चाडलाई महान चाडका रुपमा मनाउने गरेका छन् ।
उँभौली पर्वलाई किरात समुदायका जातिहरुले ठाउँ विशेष र आफ्नो बोल्ने भाषाअनुसार फरकफरक नामले चिन्ने गरिन्छ । लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’ राई र चाम्लिङजातीले ‘साकेला’ सुनुवारले ‘फोलष्यादर’ बान्तावाहरूले ‘साकेन्वा’ दुमी राईहरुले ‘तोसी’लगायतका इत्यादि नामहरुले उँभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ । पहाडी भेगमा रामनवमी सुरू भएसँगै साकेला मनाउन सुरू गरिन्छ । टोलटोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिँड्ने चलन रहेको छ । यो चाडमा किरात राईहरुले पुर्खालाई सम्झेर सिलिमार्फत सम्मान गर्ने गरिन्छ ।
उँभौली विशेषगरी धरान, इटहरी, तरहरा, बेलबारी, विराटचोक, दमक, उर्लाबारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ ।
साथै राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला नाच्नेहरु उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा भव्य साकेला मनाइन्छ, काठमाडौँका टुँडिखेल, हात्ती वनलगायत स्थानमा पनि साकेला हर्षउल्लासका साथ मनाउने गरिएको छ । चार किराँत (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उँभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उँधौली मनाउने प्रचलन छ । –रासस