नागरिकको विश्वास जित्नेगरी काङ्ग्रेसलाई रूपान्तरण गर्छौँ : सभापति थापा

0

ललितपुर, २४ असोज । नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्नेगरी पार्टीलाई रूपान्तरण गर्ने बताउनुभएको छ ।

पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो ।

उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै काम गर्ने शैली, जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताउनुभयो । महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उहाँले सभापतिमा प्रतिस्पर्धा गर्नुभएका श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

थापाले नागरिक र काङ्ग्रेसबिचको विश्वास कमजोर भएको उल्लेख गर्दै किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले भरोसा गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनःपार्टीसँग जोड्ने र घरघरमा काङ्ग्रेसलाई स्वागत गर्ने वातावरण बनाउन काम गर्ने शैलीमै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।

महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गरी सुझाव दिन एक साताको समय उपलब्ध गराइएको जानकारी दिँदै उहाँले सबैको सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...