सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

13

सुर्खेत, २४ असोज । सुर्खेतका तीन स्थानका जङ्गलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सान्नेघारीस्थित जङ्गलबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ ।

त्यस्तै, अस्थायी प्रहरी चौकी लगामबाट खटिएको टोलीले चौकुने गाउँपालिका–१ धामिसेनस्थित जङ्गलबाट १२ नाल र प्रहरी चौकी रानीघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ ज्यामिरेस्थित जङ्गलबाट एक नाल भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरीका अनुसार तीन स्थानबाट बरामद गरिएका बन्दुक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ । बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि जङ्गलमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...