भोजपुर, २० असोज । सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै किसान पिरोलिएका हुन् ।
सुन्तला पहेँलो हुने र आफैँ भुइँमा खस्ने रोग फैलिएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थ बहादुर प्रधानले बताउनुभयो । फल लाग्ने समयमा परेको असिनापानीबाट जोगिएको सुन्तलामा अहिले फल झर्ने समस्या देखिएको उहाँको भनाइ छ ।
प्रधानका अनुसार बगानमा अहिले फल झर्नेबाहेक हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने र बोट नै पहेँलो हुँदै जाने समस्या देखिएका छन् ।
“पछिल्लो समय अनौठो रोग देखिन थालेको छ”, उहाँले भन्नुभयो, “यो वर्ष त झन् फल पहेँलो भएर झर्ने समस्याले व्यावसायिक खेती गरिरहेका हामी सबै किसानलाई ठुलो समस्यामा पारेको छ ।” उहाँले करिब ४२ रोपनीमा सुन्तलाखेती विस्तार गरेको सुनाउनुभयो ।
टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले विगत केही वर्षदेखि फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या निरन्तर दोहोरिरहेको बताउनुभयो । करिब १५ रोपनीमा सुन्तलाखेती गरेर वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएका राईले रोगका कारण उत्पादन घट्दै गएको जानकारी दिनुभयो ।
भोजपुर नगरपालिका–६ का किसान भीमराज विष्टले सुन्तलाका फल बोटमै फुट्न थालेको बताउनुभयो । समयमै यसको रोकथाम र नियन्त्रण हुन नसके पूरै बगान नै सखाप हुने स्थिति आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सुन्तला बगानमा यस्तो रोगको प्रकोप देखिएकाले कृषि प्राविधिक तथा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीय किसानको माग छ ।