काङ्ग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ : रामहरि खतिवडा

18

काठमाडौँ, १९ असोज । नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडाले पार्टीभित्र सबै पक्षलाई समेटेर काङ्ग्रेसलाई थप एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल न्युज बैङ्कसँग कुरा गर्दै खतिवडाले काङ्ग्रेसको महाधिवेशनमा देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको र विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ता पनि सहभागी भएको बताउनुभयो ।

महाधिवेशनले युवा, बुद्धिजीवी, पूर्वप्रजातन्त्र सेनानी, महिला, दलित, जनजाति तथा पिछडिएका वर्गलगायत विभिन्न समुदायमा नयाँ उत्साह पैदा गरेको उनको भनाइ छ । उनले महाधिवेशनमा सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गरिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशभरिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनुभएको छ । विदेशमा रहेका साथीहरू पनि आउनुभएको छ । महाधिवेशनले युवा, बुद्धिजीवी, पूर्वप्रजातन्त्र सेनानी, महिला, दलित, जनजाति तथा पिछडिएका वर्गलगायत सबैमा नयाँ उत्साह पैदा गरेको छ । काङ्ग्रेसले सबै पक्षलाई समेटेर प्रतिनिधित्व गराउँदै अघि बढेको छ ।’

खतिवडाले विगतमा पार्टीबाट बाहिरिएका नेताहरू तथा कार्यकर्तालाई समेत काङ्ग्रेसको नेतृत्वमा पुनः एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरे । प्रजातन्त्रका लागि जेल जीवन बिताएका, गोली खाएका तथा व्यक्तिगत र राजनीतिक स्वतन्त्रताका लागि योगदान दिएका नेताहरू पार्टी छाडेर अन्यत्र जान नहुने उहाँको धारणा थियो ।

‘गालीगलौज गरेर होइन, तितो बोलेर होइन, सबैलाई समेटेर जानुपर्छ,’ खतिवडाले भन्नुभयो, ‘काङ्ग्रेसलाई मात्रै एकता गर्ने होइन, देशभरिका सबै प्रजातन्त्रवादीलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्छ ।’

उहाँले पार्टीलाई आगामी दिनमा पहिलो र प्रिय बनाउन सबै नेताहरू एक ठाउँमा आउनुपर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

यसैबिच, खतिवडाले नेपाली काङ्ग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरे पनि पार्टीका नेता तथा कार्यकर्तासँगको छलफलपछि सहमहामन्त्री पदमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले आफूलाई यस निर्णयमा पार्टीका अन्य नेताहरू तथा साथीहरूको सहयोग रहेको पनि बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...