- मनिषा ढकाल
काठमाडौँ, २४ असोज । ब्लु डायमण्ड सोसाइटीको २५औँ वार्षिकोत्सवमा बोलिरहँदा मनमा एउटै प्रश्न आइरहेको छ-२५ वर्ष यति छिटो कसरी बितेछन् ? तर, यी २५ वर्ष केवल समय बितेका वर्ष होइनन् । यी हाम्रो अस्तित्व, पहिचान, प्रेम, आफ्नो शरीरमाथिको अधिकार र सम्मानपूर्वक बाँच्ने अधिकारका लागि गरिएको संघर्षका २५ वर्ष हुन् ।
सन् २००१ मा बिडिएस स्थापना हुँदा हाम्रो समुदायका धेरै साथीहरू आफ्नो पहिचान लुकाएर, डर, हिंसा र सामाजिक बहिष्कारबिच जीवन बिताइरहनुभएको थियो। सुरुवातमा एचआइभी रोकथाम, परीक्षण र उपचार र हेरचाह हाम्रो महत्वपूर्ण काम थियो । तर, हामीले छिट्टै बुझ्यौँ-हाम्रो संघर्ष एचआइभीमा मात्र सीमित छैन ।
परिवारबाट हुने अस्वीकार, हिंसा, कानुनी विभेद्, मानसिक स्वास्थ्य, लैङ्गिक पहिचान, स्वास्थ्य सेवा, कानुनी मान्यता र समलिङ्गी विवाह यी सबै हाम्रा जीवनसँग जोडिएका प्रश्न हुन् ।
त्यसैले बिडिएसले स्वास्थ्यसँगै अधिकार, सम्मान, पहिचान र न्यायको प्रश्नलाई पनि आफ्नो आन्दोलनको केन्द्रमा राख्यो ।
हामीले बुझ्यौँ-अधिकार काठमाडौँमा मात्र बसेर प्राप्त हुँदैन । त्यसैले समुदायको नेतृत्वमा स्थानीय तहसम्म पुग्यौँ, सिबीओहरू निर्माण र सुदृढीकरण गर्यौँ र राष्ट्रिय सञ्जाल निर्माण गर्यौँ । सन् २००७ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घ नेपालको स्थापना पनि यही यात्राको एउटा महत्त्वपूर्ण उपलब्धि थियो ।
हामीले अधिकारका लागि अदालतको ढोका पनि ढकढक्यायौँ । सर्वोच्च अदालतका ऐतिहासिक निर्णयहरू र सन् २०१५ को संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकार स्थापित हुनु हाम्रो वर्षौंको सङ्घर्ष, साहस र निरन्तरताको परिणाम हो । यी केवल कानुनी दस्तावेज होइनन् । यी हाम्रो समुदायको इतिहास हुन् ।
बिडिएस कठिन समयमा पनि समुदायसँगै उभियो । अस्पताल र उपचारदेखि प्रहरी हिरासतसम्म, भूकम्पदेखि कोभिड–१९ सम्म, हिंसा र विपद्को समयमा हामी समुदायसँगै रह्यौँ ।
परिवार र समाजले चाडपर्व, विवाह तथा सामाजिक समारोहमा हाम्रो सहभागितालाई अस्वीकार गरिरहेका बेला बीडीएसलले तीज, पिकनिक र आफ्नै सामूहिक उत्सवका माध्यमबाट समुदायलाई परिवारजस्तो सुरक्षित ठाउँ दियो । जहाँ हामी खुलेर हास्न सक्थ्यौँ, रमाउन सक्थ्यौँ र सबैभन्दा महत्त्वपूर्ण-आफू भएर बाँच्न सक्थ्यौँ।
आज हाम्रो समुदाय सङ्घीय संसद्सम्म पुगेको छ । यो एक व्यक्तिको मात्र सफलता होइन । यो २५ वर्षको सामूहिक सङ्घर्षले सिर्जना गरेको सम्भावनाको परिणाम हो ।
यस यात्रामा साथ र सहयोग गर्नुहुने विभिन्न राजनीतिक दल तथा नेतृत्वप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हाम्रो अधिकार र पहिचानका सवाललाई राजनीतिक तथा सार्वजनिक बहसमा स्थान दिन उहाँहरूले पुर्याउनुभएको सकारात्मक भूमिकालाई सम्मानपूर्वक स्मरण गर्दछौँ ।
यतिबेला नेपाल सरकारको संस्थागत संरचनामै ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ शब्द समावेश भएको छ। २५ वर्षअघि उठाएको आवाज आज राज्यको संरचनामा देखिनु महत्त्वपूर्ण उपलब्धि हो । तर, नाम आउनु मात्र अन्तिम उपलब्धि होइन । त्यसको अर्थ समुदायको जीवनमा वास्तविक परिवर्तन आउनु हो ।
(ब्लु डाइमण्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले संस्थाको रजत वर्ष समारोहमा व्यक्त गर्नुभएको विचार)