काठमाडौँ, २४ असोज । रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।
शनिबार बिहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको खण्ड (मङ्गलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ) वर्षासँगै लेदो माटो र गेग्रान खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक अवरुद्ध भएलगत्तै सुरक्षाकर्मी तथा प्राविधिक टोलीले डोजरको सहायताले लेदो हटाउने कार्य तीव्र पारेका थिए । सडकमा जम्मा भएको लेदो पन्छाएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेको स्थानीय प्रशासनले जनाएको छ । सडक खुले पनि निर्माणाधीन खण्ड भएकाले सावधानीपूर्वक यात्रा गर्न चालकहरूलाई आग्रह गरिएको छ ।