काठमाडौँ, १० चैत । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा दाबी भुक्तानी र मिस सेलिङको समस्या अझै रहेको बताउनुभएको छ ।
आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओझाले अन्डराइटिङको समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न नसकेका कारण बिमा दाबी भुक्तानी र मिस सेलिङको समस्या देखिएको बताउनुभयो ।
यी समस्याहरुबारे प्राधिकरणमा छलफल समेत भइसकेको बताउँदै दीर्घकलीन समाधानको उपाय खोजी भइरहेको उहाँको भनाइ छ । अध्यक्ष ओझाले बिमा कम्पनीहरुलाई छरिएर रहेका निर्देशनहरुलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको समेत बताउनुभयो ।
बिमा कम्पनीहरुले भोगिरहेका समस्या समाधान र बिमा उद्योगलाई दिगो रुपमा विकास गर्न सहजता प्रदानको लागि एकीकृत निर्देशन जारी गर्न लागिएको जानकारी दिएका छन् ।
बिमितहरुले भोगिरहेका विभिन्न समस्याको समाधानका लागि पनि बिमकको वित्तीय स्वास्थ्य बलियो हुन आवश्यक रहेको भन्दै उहाँले एकीकृत निर्देशनले जरुरी रहेको बताउनुभयो ।
उहाँले बिमा प्राधिकरणले हाल नियामकीय व्यवस्थाहरूलाई सुधार गर्न प्रारम्भिक कार्य गरिसकेको जानकारी दिनुभयो ।
‘हाम्रो मुख्य उद्देश्य बिमा बजारलाई व्यवस्थित बनाउँदै व्यवसायिक अभ्यास सुधार गर्नु हो’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यसका लागि सरोकारवालाहरूको सहकार्य आवश्यक छ ।’
कार्यक्रममा बोल्दै जीवन बिमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत प्रनिण रमन पराजुलीले बिमा ऐनलाई समय सापेक्ष बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । यसका लागि प्राधिकरणले काम गर्नेमा आफूहरु ढुक्क रहेको उहाँको भनाइ छ ।
बि विज्ञ रविन्द्र घिमिरेले विमा प्राधिकरणले जति प्रभावकारी रुपमा कार्यक्रमहरु गर्नुपर्ने हो त्यो हुन नसकेको गुनासो गर्नुभयो। एउटा कर्मचारीले सानो गल्ती गर्दा अर्बौंको जोखिम इन्सुरेन्सको थाप्लोमा आउने कारण प्राधिकरणले दक्ष जनशक्तिको उत्पादनका लागि गम्भिर रुपमा सोच्न आवश्यक रहेको धारणा राख्नुभयो ।
यस्तै, इमान अध्यक्ष रोयल आचार्यले बिमाको इतिहास लामो भए पनि अझै धेरै नागरिकको माझमा बिमाको पहुँच पुर्याउन बाँकी रहेको औँल्याउनुभयो ।
इमानले प्राधिकरणको अध्यक्ष नियुक्त भएकोमा ओझालाई सम्मान समेत गरेको छ । इमान अध्यक्ष रोयल आचार्यले प्राधिकरणका अध्यक्ष ओझालाई सम्मानपत्रसहित सम्मान गर्नुभयो ।