मुगु हत्याकाण्ड : कतारको भिसा नमिलाएको रिस फेर्न ४ जनाको हत्या

113

मुगु, २४ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका ४ जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।

टोलीले घटनामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । दुवै जनालाई आज प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भइ हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।

हत्यापछि भागेका गोर्खराजलाई सिआइबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खराज पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नम्बर २ बाट प्रहरीले पक्राउ गरेको थियो ।

यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज, ७ वर्षीया छोरी अप्सरा र ५ महिनाका छोरा रहरको घरभित्रै हत्या भएको थियो ।

हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ । घरमा दसैँ मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो ।

हत्या आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहरालाई भिसा लगाइदिन २ वर्षअघि आग्रह गरेका थिए । दीपकले भिसा मिलाउन नसकिने जबाफ दिएका थिए । त्यही भिसा नमिलाइ दिएको कारण रिस साँधेको प्रहरीले बताएको छ ।

उनीहरूले सुरूमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको छ ।

२०८० जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाललाई भेटेको, त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०÷१२ तोला सुन लुटपाट गर्ने योजना बनाइ सोही योजनाअनुसार कात्तिक ५ गते गोर्खराज सुर्खेतबाट मुगु आइ गोपालको घरमा बसेको ७ गते र ८ गते राति गोपालको पुरानो गोठमा लुकी बसेको, गोपालले लुकाएर खाना खुवाएको र कात्तिक ८ गते श्रीदेवी बोहरा२ छोरा र एक छोरीसहित माइतीघरबाट फर्किएपछि त्यही बेलुकी गोर्खराज र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताए ।

हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे २ तोलाका सुनका रिङ, २५ लालको तिलहरि लुटी लिएर फरार भएका थिए । प्रहरीका अनुसार घटनापछि उनीहरूले शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाइ हिँडेका थिए । गोपाल बोहरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खराज भने सुर्खेततर्फ फरार भएका थिए । प्रहरीका अनुसार अनुसन्धान टोलीले बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खराजले लुकाइछिपाइ राखेको नगद १ ला ७९ हजार, निजकै नामको राहदानी, मुगुबाट गएको बसको टिकट फेला पारेको थियो ।

घटनाको अनुसन्धानका लागि सुरूदेखि जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाको टोली र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको २ वटा अनुसन्धान टोलीले घटनास्थलमै खटिएर अनुसन्धान गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट आएको नतिजालाई केलाएर प्रहरीले मुगु सामूहिक हत्याका आरोपी पक्राउ गर्न सफल भएको हो । अनुसन्धानका क्रममा सिआइबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो ।

अनुसन्धानमा ४ टोलीका १४ सदस्य खटिएका थिए । प्रत्येक टोलीलाई छुट्टाछुट्टै क्षेत्र बनाएर अनुसन्धान गरिएको थियो । प्रमुख हत्या आरोपी २ जना सार्वजनिक गरे पनि सामूहिक हत्याको थप अनुसन्धान जारी रहने पनि प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

सम्बन्धित समाचार

मुगु सामूहिक हत्या प्रकरण : दुई जना पक्राउ

मुगु हत्याकाण्ड : सिआइबीलाई अनुसन्धानको जिम्मा

मुगु हत्याकाण्ड : घटनाको ८ दिनपछि दाहसंस्कार

मुगु हत्याकाण्ड : हप्ता दिन पुग्दा पनि प्रहरीले अझै भेट्टाएन ‘क्लु’

मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदै छ : प्रदेश प्रहरी

मुगु सामूहिक हत्याकाण्ड : शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

मुगु सामूहिक हत्याकाण्ड : हत्याराको नजिक पुग्दै प्रहरी

मुगु घटना : चारै जनाको शव पोस्टमार्टमका लागि गमगढी ल्याइयो
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो

Share This:
सम्बन्धित खबर
Loading...