मुगु हत्याकाण्ड : हप्ता दिन पुग्दा पनि प्रहरीले अझै भेट्टाएन ‘क्लु’

103

मुगु, १५ कात्तिक । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरीले घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको बताउँदै आएको छ ।

गत ८ गते बुधबार सो घटना भए पनि दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात प्रहरीले २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहरलाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतका श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्‍यायो । सोमबारसम्म चार वटै शवको परीक्षण सकिए पनि मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अड्को दीपकले थापेपछि दाहसंस्कार हुन सकेको छैन ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सुक्ष्म अध्ययन गरिरहेको छ । सो घटना मृत्यु नभइ सामूहिक हत्या भएको आशंका गरी प्रहरीले शनिबार ११ गतेदेखि सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्युरो टोली र कोहलपुरबाट तालिमप्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटाएर अनुसन्धान तीव्र बनाएको थियो । जुम्लाबाट पनि सो घटनाको अनुसन्धानमा सघाउन प्रहरीको विशेष टोली मुगु पुगेको थियो ।

घटनाको प्रकृति र अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल पुगेका थिए ।

घटना भएको सिंगो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिए पनि घटना भएको हप्ता दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेको छ ।

अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटना संलग्न भएको आशंकामा प्रहरी नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिसँग भेरिफाइ गर्न कम्तिमा एकदेखि दुई दिनसम्म लाग्छ । ४–४ जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन ।

“मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइ ब्यहोरेर काम गर्नुपर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन र नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धानसम्बन्धी क्रियाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवतजावत गर्न कठिनाइ छ । यस्तै, विविध समस्याले अनुसन्धानमा असर परिरहेको छ,” उनले भने ।

प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट सो घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल दुई फोन सेटमध्ये एक सेट भेटिए पनि अर्को स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोवारले हत्या भएको हुनसक्ने अनुमान गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि अनुसन्धान भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाइछाड्ने प्रहरीको जिकिर छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा डिएसपी थापाले भने, “कुनै क्लु नभेट्टाइ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेट्टाएमा थप अनुसन्धान गर्न सिआइबी टोली पनि मुगु आउनसक्छ ।”

शवहरूको परीक्षण सोमबारै सकिएकाले अब घटनाबारे सुक्ष्म अध्ययन र अनुसन्धान हुने पनि डिएसपी थापाले जानकारी दिए ।

यता जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरू गल्दै गएकाले समयमै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताए । उनले भने, “प्रहरीले अनुसन्धान गरिरहेको छ । सुक्ष्म अध्ययनका लागि शव परीक्षण पनि भइसक्यो अब आफन्तहरूले शव बुझिदिए राम्रो हुनेथियो ।”

सम्बन्धित समाचार

मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदै छ : प्रदेश प्रहरी

मुगु सामूहिक हत्याकाण्ड : शंकास्पद एक जना प्रहरीको नियन्त्रणमा

मुगु सामूहिक हत्याकाण्ड : हत्याराको नजिक पुग्दै प्रहरी

मुगु घटना : चारै जनाको शव पोस्टमार्टमका लागि गमगढी ल्याइयो
मुगु हत्याकाण्ड : कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो

Share This:
सम्बन्धित खबर
Loading...