खाँदबारी, ११ जेठ । सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिनुभयो ।
आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना हुनुभएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत नवजात शिशु निकालिएको थियो । यसक्रममा उहाँको अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
जिल्ला अस्पतालका प्रमुख डा.सन्तोश देवले भन्नुभयो “मगरलाई अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकोप्टरमार्फत काठमाडौँ थापाथलीस्थित प्रसूति गृहमा पठाइएको छ ।” सुत्केरी मगरलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो । -रासस