शुभेच्छा खड्का : मोडलिङदेखि चलचित्रसम्म

23

काठमाडौँ, २२ असोज । शुभेच्छा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुनुहुन्छ । अघिल्लो वर्ष मात्रै उहाँ लिड रोलमा रहेको चलचित्र ‘चित्रा’ प्रदर्शनमा आएको थियो ।

ब्युटी प्याजेन्ट होस् वा र्‍याम्पमा वाक अथवा सिनेमाको पर्दामा अभिनय कलाका जुनसुकै विधामा उहाँले आफूलाई अब्बल प्रमाणित गर्नुभयो । १९९४ फेब्रुअरी ७ मा काठमाडौँमा जन्मिनुभएकी शुभेच्छाले ब्युटी प्याजेन्टमार्फत् कलाको विधामा इन्ट्री गर्नुभएको थियो । २०११ मा मिस ई कलेज–२०११ मा उहाँले पहिलोपटक भाग लिनुभयो । जहाँ उहाँ टप ५ सम्म पुग्दा दुईवटा सबटाइल भने जित्नुभयो ।

त्यो प्रतियोगितामा उहाँलाई धेरैले पहिलो हुनुपर्ने प्रतिस्पर्धी भनिरहेका थिए । तर, उहाँले टाइटल जित्न सक्नुभएन । ‘मलाई पनि अपेक्षा थियो । तर मेरो भाग्यमा नै यस्तै रहेछ भन्ने भयो,’ शुभेच्छा भन्नुभयो, ‘त्यो प्रतियोगिताबाट मैले धेरै कुरा सिकेँ । अझै धेरै गर्नसक्छु भन्ने अठोट गरेँ ।’

त्यसको एक वर्षपछि देशकै ठुलो ब्युटी प्याजेन्ट मिस नेपाल–२०१२ मा सहभागी हुनुभयो । यसमा भने उहाँलाई ठुलो सफलता हात लाग्यो । उहाँको अठोट र लगाबले काम गर्‍यो । मिस नेपाल इन्टरनेसनल–२०१२ टाइटल जित्नुभयो । यो आफैँमा सफलता त छँदै थियो । त्यसबाहेक यो आगामी दिनमा अन्य क्षेत्रका ढोका पनि खुला भएका थिए । ती ढोका कला क्षेत्रका साथै अन्य क्षेत्रका पनि थिए । मात्रै उहाँले कुन क्षेत्र रोज्ने भन्ने मात्रै थियो ।

सानैदेखि शुभेच्छा सुन्दरी प्रतियोगिताहरू हेर्नुहुन्थ्यो । टेलिभिजनमा हेरिरहेका ती प्रतियोगिताले उहाँको मन खिचेको थियो । मिस युनिभर्सदेखि मिस वर्ल्डसम्म उहाँ हेर्न छुटाउँदिनन् थिइन् । ‘म ती प्रतियोगिता हेर्दिनमात्रै थिएँ, निकै प्रभावित पनि हुन्थेँ । यस्तै प्रतियोगितामा सहभागी भएर विजेता हुन पाए भन्ने लोभ पनि लाग्थ्यो । तर यही बाटो रोज्छु भन्ने निश्चित गरेको थिइनँ,’ उहाँ नोस्टाल्जिक हुन्छिन् ।

उहाँमा यति धेरै दिलचस्पी थियो, मिस नेपालप्रति । उहाँ सानैमा प्रत्येक मिस नेपालको नाम कण्ठस्थ थियो । २०१२ को वर्ष प्लस टु सकेर स्नातक भर्ना हुनुभएको थियो । एक्कासी उहाँलाई लाग्यो, यही वर्ष मिस नेपालमा जानुपर्छ भन्ने सोच आयो । परिवारले पनि उनलाई सहयोग गर्‍यो । शुभेच्छालाई झन् सहज भयो ।

‘मिस नेपाल मोडलिङमा जाने सबैभन्दा ठुलो प्लेटफर्म हो भन्ने लाग्यो,’ उहाँ भन्नुहुन्छ, ‘यहाँ गएर मोडलिङको क्षेत्रमा नाम कमाउन सकिन्छ भन्ने थियो । त्यसैले म मिस नेपालमा सहभागी भएको थिएँ ।’

उहाँले आफूलाई स्थापित गर्न धेरै ब्युटी प्याजेन्टमा भाग लिनै परेन । उहाँले चारवटा प्रतियोगितामा भाग लिनुभयो । जसले उहाँलाई पर्याप्त नाम दियो । राष्ट्रियतर्फ मिस ई–कलेज–२०११ र मिस नेपाल–२०१२ र इन्टरनेसनलतर्फ मिस इन्टरनेसनल २०१२ (जापान) र वर्ल्ड मिस युनिभर्सिटी–२०१७ (कम्बोडिया)मा भाग लिनुभयो । यसले उहाँलाई नेम र फ्रेम दुवै दियो ।

शुभेच्छाले मोडलिङ सुरु गरेको १२ वर्ष भयो । जसले उहाँलाई नाम त दियो नै । सँगै देशका धेरै ब्रान्डसँग काम गर्ने अवसर जुटाइदियो । देशका थुप्रै प्रतिष्ठित कम्पनीको ब्रान्ड एम्बेस्डर भएर काम गर्नुभयो । म्याजिक फुटवेर, ग्ल्याम एन्ड ग्लोरी हेयर रिमुभल क्रिम, मिनिसो, वेलबेल, टे«नेक्युलिटी स्पा, अप्सन कन्सल्टेन्सीको उहाँ ब्रान्ड एम्बेस्डर हुनुभयो ।

मोडलिङ शुभेच्छाको पेसा हो, यसमै उहाँ रमाउनुहुन्छ । उहाँलाई मोडलिङले आफ्नो इच्छालाई आकार दियो । जिन्दगीलाई रमाइलो बनाइदियो । क्यामेरा अगाडि निर्धक्क बोल्न र अभिनय गर्न अवसर दियो । थुप्रै ब्रान्डसँग जोडिन र बुझ्ने मौका दियो । सबैभन्दा ठुलो कुरा त पहिचान दियो ।

पत्रिकामा छापिनु, समाचारका हेडलाइन बन्नु, अन्तर्वार्ताको पात्र हुनु, टेलिभिजनमा विभिन्न भूमिकामा प्रस्तुत हुँदा, एमसी भएर बोल्नु आखिर मोडलिङले त दिएको हो उहाँलाई, त्यसैले उहाँ यो अवसर प्रदान गर्ने पेसाप्रति सधैँ नतमस्तक हुनुहुन्छ ।

जब उहाँ मिस नेपालमा सहभागी हुनुभयो र मिस नेपाल इन्टरनेसनको उपाधि जित्नुभयो । उहाँलाई चलचित्रमा नायिकाका लागि अफर आउन थाले । तर उहाँलाई त्यो बेला आँट आएन । उहाँ सिनेमामा नखेले पनि यसलाई नजिकबाट नियालिरहनुभएको थियो । अफर आउँथे । उहाँलाई अफर स्वीकार गरौँ कि भन्ने पनि लाग्थ्यो । तर, फेरि अर्को मनले भन्थ्यो, अझै केही समय कुर्ने की ।

तर, जब गोविन्द सिंग भण्डारीबाट अफर आयो चलचित्रका लागि । निर्देशक भण्डारीको टिम देखेर उहाँलाई चलचित्रमा काम गर्न रहर लाग्यो । र उनले खेल्नुभयो, रनवीर । जुन उहाँको पहिलो चलचित्र थियो । सिनेमामा प्रवेश गर्नुभयो । ‘रनवीर’, ‘चित्रा’ लगायत चलचित्रमा नायिकाको रुपमा काम गर्नुभयो । तर, उहाँले मोडलिङलाई भुल्नुभएको छैन । उहाँ अझै मोडलिङलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ ।

‘चलचित्रमा पनि काम गर्दैछु । चाँडै नै दर्शकले मलाई ठुलो पर्दामा देख्नु हुनेछ । बाहिरका एजेन्सीसँग पनि टचमा छु । त्यहाँबाट पनि थुप्रै कामको अवसर आइरहेको छ,’ शुभेच्छाले भन्नुभयो, ‘ती एजेन्सीसँगै अरु पनि काम गर्नेछु । चलचित्र र मोडलिङ त मेरो पहिचान नै हो, गर्ने नै छु ।’

Share This:
सम्बन्धित खबर
Loading...