‘काजी’ : आदर्श पुरुष र खुद्रा पारिवारिक समस्याभित्रको सामाजिक चित्रण

फिल्म समीक्षा

3
  • आकाङ्क्षा धामी

काठमाडौँ, १३ जेठ । चलचित्र ‘काजी’ मा समयको परिवेश, सम्बन्धको संवेदना र सामाजिक मान्यताबिचको द्वन्द्वलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । विपिन कार्की अभिनीत यो फिल्मले प्रेम, समर्पण र निःस्वार्थ सम्बन्धको कथा भन्न खोज्छ । तर, कथाभित्र लुकेको वैचारिक पक्षले दर्शकलाई अनेक प्रश्न गर्न बाध्य बनाउँछ । के प्रेमको नाममा गरिने मौन त्याग वास्तवमै महानता हो वा त्यसले पुरानै असमान सोचलाई निरन्तरता दिइरहेको छ ?

निर्देशक लक्ष्मण रिजालले फिल्मलाई २०४८ साल आसपासको सामाजिक परिवेशमा राखेका छन् । रेडियोबाट बज्ने समाचार, लालटिनको उज्यालो र गाउँको जीवनशैलीले दर्शकलाई त्यो समयतिर फर्काइदिन्छ । राजनीतिक परिवर्तनको पूर्वसन्ध्यामा रहेको समाजको मानसिकता फिल्ममा सूक्ष्म रूपमा घुसेको छ ।

चलचित्रले (प्रजातन्त्र आउनुअघिदेखि सशस्त्र द्वन्द्व सुरू हुनु अगाडिको समय) लाई पर्दामा उतारेको छ । ‘काजी खानदान’ को विरासत बोकेका काजी (विपिन कार्की) र उनकी श्रीमती कजिनी (केकी अधिकारी) को वैवाहिक जीवनको वरिपरि कथा घुम्छ ।

फिल्मको कथा काजी (विपिन कार्की) र कजिनी (केकी अधिकारी) को विवाहबाट सुरु हुन्छ । विवाहपछिको सुरुवाती दिनमा काजीलाई ससुरालीमा गरिने अपमानले दर्शकको मन छुन्छ । पाखे जुवाइँ भन्दै ससुराले गर्ने उपेक्षा, खसीको मासु खुवाउनका लागि सरकारी जागिरे रहेका ठुला जुवाइँ नै आउनुपर्ने विभेदकारी सोचले हाम्रो समाजको तत्कालीन र अझै पनि विद्यमान रहेको ओहोदाप्रतिको मोहलाई चित्रण गरेको छ चलचित्रले ।

यद्यपि, काजी आफ्नो गाउँमा एउटा सम्मानित र निर्दोष पात्र हो । आफ्ना पिताले बसालेको बस्तीमा उसको बेग्लै सान छ । गाउँका एक युवा बिरामी आमालाई डोकोमा बोकेर सदरमुकाम लगिरहेका हुन्छन्, बाटोमा जब काजीले भेट्छ, खल्तीबाट पैसा निकाल्दै ती आमाका लागि उपचार खर्च थमाउँछ । काजीको यस्तै स्वभावले उसलाई एउटा आदर्श पुरुषको रूपमा स्थापित गर्छ । तर, यो दम्पत्तीको जीवनमा एउटा ठलो रिक्तता छ सन्तानको अभाव । यही निःसन्तान हुनुको पीडा र त्यसले उब्जाएको असुरक्षाको भावना नै यो फिल्मको मुख्य द्वन्द्व हो ।

कजिनीको मनमा उब्जने शङ्का चलचित्रको अर्को मोड हो । सामान बेच्दै हिँड्ने नन्दुकी श्रीमतीले सुनाएको आफ्नै बहिनी सौता गएको कथाले कजिनीको मनमा भुइँचालो ल्याउँछ । आफ्नै श्रीमान् र बहिनी (गरिमा पन्त) प्रतिको सम्बन्धमा अनावश्यक शङ्काले उनलाई गर्भवती भएको झुटो नाटक गर्न बाध्य तुल्याउँछ । एउटा सानो शङ्काले कसरी मानिसलाई झुटको पहाड खडा गर्न बाध्य पार्छ भन्ने कुरालाई चलचित्रले सुक्ष्म ढङ्गले देखाएको छ ।

चलचित्रले कुनै ठुला र नाटकीय संवादहरूभन्दा पनि दैनिक जीवनमा आइपर्ने साना–साना व्यवहार, पारिवारिक सङ्घर्ष, जिम्मेवारी र विवाहपछिको साँचो प्रेमलाई बडो सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । गाउँले परिवेशमा सुरू भएको कथामा समयको परिवर्तनसँगै सम्बन्धमा आउने उतारचढाव र जटिलता नै यो चलचित्रको मूल हो ।

प्राविधिक हिसाबले फिल्म आकर्षक छ । क्यामेराको प्रयोग विशेष उल्लेखनीय लाग्छ । काजीको निराशा देखाउन ओरालो बाटोको प्रयोग र आशा पलाएको क्षणमा उकालो दृश्य प्रयोग गर्नु प्रतीकात्मक रूपमा प्रभावकारी छ । यसैगरी, सेतो कपडा लगाएका बच्चाहरू खेलिरहेको र एक्कासी गायब भएको सपनाको दृश्यले काजीको अपूरो पितृत्व चाहनालाई कलात्मक ढङ्गले अभिव्यक्त गरेको छ ।

सङ्गीत र पाश्र्वध्वनिले पनि फिल्मलाई बलियो साथ दिएका छन् । विशेष गरी ‘वारी वर पारी पिपलु’ गीतले पात्रहरूको सम्बन्धलाई भावनात्मक गहिराइ दिन्छ । गाउँको शून्यता र पात्रहरूको मनोविज्ञानलाई ध्वनिले राम्रोसँग समेटेको छ ।

अभिनयतर्फ विपिन कार्की फिल्मको मुख्य शक्ति हुन् । श्रीमतीको खुसीमै आफ्नो संसार देख्ने, उसको कमजोरीलाई स्वीकार गर्ने पात्रलाई उनले निकै सहज रूपमा प्रस्तुत गरेका छन् । केकी अधिकारीले असुरक्षित र शङ्कालु श्रीमतीको भूमिका प्रभावकारी बनाएकी छन् । गरिमा पन्त, हेमन्त बुढाथोकी र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय पनि स्वाभाविक लाग्छ ।

यद्यपि, फिल्मको मुख्य कमजोरी यसको पटकथामा देखिन्छ । पहिलो भाग अत्यधिक सुस्त हुँदा कथा समात्न समय लाग्छ । साथै, फिल्मले अन्त्यतिर दिने सन्देशले बहस निम्त्याउन सक्छ । ‘स्वस्थानी व्रत’ र धार्मिक विश्वासलाई समाधानको माध्यम बनाइनुले फिल्मलाई केही हदसम्म रुढिवादी बनाएको अनुभूति हुन्छ । महिलाको अस्तित्वलाई मातृत्व र श्रीमान्‌को स्वीकृतिसँग मात्र जोडेर हेर्नु आजको सचेत समाजसँग पूर्ण रूपमा मेल खाँदैन । फिल्ममा ‘स्वस्थानी व्रत’ र ‘भगवान्‌को विश्वास’लाई जसरी समाधानको रूपमा प्रस्तुत गरिएको छ, त्यसले समाजलाई केही हदसम्म ‘पश्चगामी’ सन्देश दिने जोखिम राख्छ । एउटी महिलाको खुसी केवल एउटा ‘राम्रो श्रीमान्’ पाउनुमा मात्र सीमित छ र त्यो पनि व्रत बसेर प्राप्त हुन्छ भन्ने सोचले आजको आधुनिक र सचेत समाजको प्रतिनिधित्व गर्दैन ।

यसैगरी कजिनीको झुटलाई काजीले थाहा पाएर पनि स्वीकार गर्नु प्रेमको गहिराइ हो कि सम्बन्धभित्रको कमजोरी फिल्मले यही प्रश्न खुला छाड्छ । प्रेमको नाममा झुट र मौन सहमतिलाई महिमामण्डन गरिएको अनुभूति कतिपय दर्शकलाई असहज लाग्न सक्छ ।

समग्रमा, काजी अभिनय, दृश्य संयोजन र प्राविधिक पक्षका कारण हेर्नलायक फिल्म हो । तर, यसको वैचारिक धरातल र कमजोर पटकथाले फिल्मलाई अझ उचाइमा पुग्न रोकेको महसुस हुन्छ । यसले प्रेम र समर्पणको कथा सुनाए पनि, त्यसभित्र लुकेको सामाजिक दृष्टिकोणमाथि प्रश्न उठाउने पर्याप्त ठाउँ छोडेको छ ।

जीवन्त अभिनय गर्ने विपिन कार्कीले सधैँझैँ आफ्नो चरित्रमा न्याय गरेका छन् । एउटा श्रीमान्‌ले श्रीमतीको खुसीका लागि गर्ने साना सम्झौता र उनको सूक्ष्म भावनालाई उनले दुरुस्तै उतारेका छन् । कजिनीको भूमिकामा केकी अधिकारीको अभिनय र भावुक दृश्यहरू निकै परिपक्व र तारिफयोग्य छन् ।

‘काजी’ एउटा यस्तो फिल्म हो जुन हेरिरहँदा केहीबेर आँखालाई आनन्द दिन सक्छ, विपिनको अभिनयले मन लोभ्याउन सक्छ ।

तर, चलचित्रको पहिलो हाफमा कथा स्थापना गर्ने क्रममा केही दृश्यहरू निकै सुस्त लाग्छन्, जसले गर्दा आधुनिक व्यावसायिक (कमर्सियल) फिल्म रुचाउने दर्शकलाई केही खिन्न बनाउन सक्छ । यदि तपाईं फिल्ममा ठुला एक्सन, थ्रिलर वा सस्तो कमेडी खोज्दै हुनुहुन्छ भने यो फिल्मले निराश बनाउन सक्छ । यो पूर्ण रूपमा भावना र सादगीमा टिकेको फिल्म हो ।

‘काजी’ नेपाली सिनेमा जगतमा एउटा न्यानो, क्लासिक र घरेलु स्वाद बोकेको उत्कृष्ट चलचित्र हो । धेरै तामझाम र कृत्रिम संवाद बिना नै प्रेम र सम्बन्धको गहिराइ कसरी पस्कन सकिन्छ भन्ने उदाहरण यो फिल्मले दिएको छ । विशेषगरी परिवारसँग बसेर एउटा अर्थपूर्ण र मौलिक नेपाली कथा हेर्न चाहनेहरूका लागि यो फिल्म दमदार लाग्छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...