लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

6

काठमाडौँ, १२ असार । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार गृह मन्त्रालयमा अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभइ जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लागु औषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव नेपालमा वृद्धि भएको तथ्याङ्कले पनि स्पष्ट गरिसकेको छ । यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा हामी संवेदनशील भएर लाग्नुपर्ने आवश्यकता देखिएको छ । यो कानुन कार्यान्वयनको मात्र विषय होइन, जनस्वास्थ्यको विषय पनि हो । युवाहरूको स्वास्थ्य, सुरक्षा र सम्भावनामाथि असर पार्ने भएकाले यसलाई राष्ट्रिय चुनौतीका रूपमा हेर्नुपर्ने अवस्था आएको छ।”

प्रहरी महानिरीक्षक कार्कीका अनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा प्रत्येक वर्ष औसत चार हजार लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने र करिब आठ हजार अभियुक्त पक्राउ पर्ने गरेका छन् ।

उहाँले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म पाँच हजार ४७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार लागुऔषध कसूरमा सात हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी नागरिक गरी कुल आठ हजार ६८ जना अभियुक्त पक्राउ परेका छन् ।

उहाँले भन्नुभयो, “विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा वार्षिक औषतमा चार हजार मुद्दा दर्ता र आठ हजारको हाराहारीमा त्यसका अभियुक्तहरु पनि पक्राउ पर्ने गरेको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म पाँच हजार ४७ वटा लागु औषधको मुद्दा दर्ता भएका छन् । लागु औषध कसूरमा सात हजार ७२५ जना नेपाली, भारतीय ३२८ जना र अन्य विदेशी १५ जनागरी आठ हजार ६८ जना अभियुक्तहरु पक्राउ परेको अवस्था छ ।”

बरामद लागुऔषधको विवरण प्रस्तुत गर्दै कार्कीले सबैभन्दा बढी ४५ हजार ८५० किलो गाँजा, ४७७ किलो चरेस, ४३ किलो हिरोइन, ५ किलो ७६८ ग्राम कोकिन तथा १२५ किलो ६६ ग्राम अफिम बरामद गरिएको बताउनुभयो ।

“लागु औषध बरामदमा हेर्दा सबैभन्दा बढी गाँजा ४५ हजार ८५० किलो, चरेस ४७७ किलो, हिरोइन ४३ किलो, कोकिन पाँच किलो ७६८ ग्राम, अफिम १२५ किलो ६६ ग्राम बरामद भएको छ ।”

उहाँले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाय, सरकारी निकाय, समुदाय, अभिभावक र नागरिक समाजबिच समन्वय र सहकार्य अझ सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...