- डम्बर बुढामगर
बागलुङ, १२ असार । हिजोआज तेज बहादुर घर्ती मगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ ।
बडिगाड गाउँपालिका–९ बल्घास राँकीचौरका तेज बहादुर घर्ती मगरले लालाबालाको सुखका लागि खाडीमा १६ वर्ष जीवन बिताउँदा पनि आम्दानी बचाउन सक्नुभएन । अन्ततः गाउँ फर्किनुभयो । गाउँमा बाख्रापालन गर्न पत्नि कुश्माले सहयोग गर्न थाल्नुभयो । आम्दानीबाट केही अंश बचत भयो । परिवार खुसी भए । उहाँलाई पनि क्रमशः आफ्नै गाउँ प्यारो लाग्न थाल्यो ।
खोरमा हुर्किँदै गरेका पाठापाठीमा आफ्नो र परिवारको भविष्य देखेका तेजबहादुरले परिवारलाई श्रमको महत्त्व र मेहनतको फलका सम्बन्धमा बुझाउन सक्नुभएको छ । उहाँका सन्तति बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राकै स्याहारमा तल्लीन छन् । खोरमा रहेका दर्जनौँ बाख्राका लागि घाँसपानी जोहो गर्दागर्दै थकित हुन्छन् । लखतरान घर्ती भर्खरै जन्मिएर हुर्किँदै गरेका पाठीपाठी छेउमै बस्दा दुःख बिर्सनुहुन्छ ।
उहाँले गाउँमा आफ्नो भविष्य देख्नुभएको छ । खेतबारी काल्नाखोल्सा तथा खेर गइरहेका सबै बाँझो जमिनमा घाँस रोप्नुभएको छ । सानाठुला गरी ७० बाख्राका लागि घाँस खोज्न टाढा जानु पर्दैन । खोर आधुनिक ढङ्गले निर्माण गर्नुभएको छ । त्रिचालिस वर्षीय घर्तीको जोशजाँगर देखेर स्थानीय पनि पशुपालनमा जुटेका छन् ।
विदेशमा १८ घन्टा काम गर्दा पनि राम्रो कमाइ भएन । गाउँमा थोरै लगानी र कम मेहनतमा परिवारसँगै बसेर बाख्रापालन गर्न थालेपछि उहाँको जीवनमा परिवर्तन आयो ।
उहाँले तीन वर्षअघि कृषि फार्म दर्ता गर्नुभयो । व्यावसायिक रुपमा बाख्रापालन पेसा गर्नथालेपछि बैङ्कले कर्जा दिन थाल्यो । क्रमशः वित्तीय साक्षरताका बारेमा अनुभव पनि भयो । बचत पछि खर्च गर्ने बानीले उहाँहरुलाई समृद्धिको बाटोमा डोर्याएको छ ।
तेजबहादुरको खोरमा बाख्राको सङ्ख्या बढ्दै गएका छन् । अब, उहाँले मासुपसल खोल्ने सोच बटुल्नुभएको छ । सुरुमा घरकै आठ वटा बाख्राबाट सुरु गरेको उहाँको खोरमा अहिले १५० बाख्रा पुगेका छन् ।
उहाँ भन्नुहुन्छ, “धेरै वर्ष विदेशमा बिताइयो भने जस्तो कमाइ भएन, गाउँ आएर बाख्रापालन थालेको हुँ, राम्रो आम्दानी हुँदै गएको छ”, घर्तीले भन्नुभयो, “सुरुमा ठुलो लगानी गर्न सकिएन । घरमा पाल्दै आएका आठ वटा बाख्रालाई व्यवस्थित रुपमा पाल्ने योजना बनाएर सुरु गरेको हुँ, अहिले राम्रो छ ।” घर्तीलाई उहाँकी श्रीमती कुश्माले साथ दिनुभएको छ । एक लाख ५० हजार रूपैयाँको लगानी बाट गरेको सुरु गरेको बाख्रपालनमा हालसम्म १५ लाख रूपैयाँ खर्च भइसकेको छ ।
उहाँले बर्सेनी ६० वटा खसी बोका बिक्री गर्नुहुन्छ । घर्ती दम्पतीले बाख्राको रेखदेख गर्न नभ्याएकाले गाउँका दुई जनालाई रोजगारी दिनुभएको छ ।
तेज बहादुरले भन्नुभयो, “विदेशमा दुःख गरेर घर खर्च पठाउन मुस्किल हुन्थ्यो, कडा परिश्रम गर्दा बिरामी परिन्थ्यो, त्यतिबेला घरपरिवारको धेरै याद आउँथ्यो, अहिले परिवार सँगसँगै छौँ, सँगै दुःख गरेका छौँ, सञ्चो बिसञ्चो सबै थाहा हुन्छ, आफ्नो काम मन लाग्दा गरे भो, थकाइ लाग्दा आराम गरे हुन्छ, विदेशमा जस्तो हुँदैन, धेरै कमाउन नसके पनि परिवार धान्न सहज भएको छ ।”
घर्ती दम्पतीको व्यवसाय प्रवद्र्धनका लागि बडिगाड गाउँपालिका, नेपाल गाजा डेभलभमेन्ट फाउण्डेसन र हेफर प्रोजेक्ट नेपालले तालिम, आधुनिक खोर निर्माण र बीउ बाख्रा दिएर सहयोग गरेको छ ।
घर्ती दम्पतीलाई बाख्रापालनले मिलन मात्र गराएको छैन, कुश्माका बारेमा कुरा काट्ने समाजको मुखमा बिर्कोसमेत लागेको कुश्मा घर्तीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “काम साना ठुलो हुँदैन, जसले जे जानेको छ, त्यहीँ गर्नुपर्दो रहेछ, पहिले एक÷दुई वटा बाख्रा पाल्न पनि मुश्किल हुन्थ्यो, अहिले धेरै पाल्दा पनि सहज लागेको छ, खोरमा भएका बाख्रा हाम्रो सम्पत्ति हुन्, यिनीहरुको स्याहारसुसार राम्रो गरियो भने राम्रो आम्दानी हुन्छ, अब दुई/चार पैसाका लागि अरुलाई गुहार्नु पर्दैन ।” –रासस