काठमाडौँ, २४ जेठ । जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिबद्धताहरु पूरा गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उहाँले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निःशुल्क शिक्षा, देशभित्र रोजगारीलगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा यस्तो प्रकारको असन्तुष्टिहरु किन व्याप्त छन् । जनताको आवश्यकता के हो ?, चाहना के हो ? यदि हामीले जनताहरुसँग सोध्ने हो भने उहाँहरुको चाहना गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निःशुल्क शिक्षा, छिटो छरितो सेवा, देशभित्र रोजगारी, कार्यालयहरुमा छिटो काम, शान्ति, मलको व्यवस्थालगायतका माग छन् । यसमा गम्भीर भएर सोच्नुपर्छ ।’
यस्तै, उहाँले हाल देशको अवस्था दयनीय र जर्जर रहेको भन्दै चारैतिर असन्तुष्टिहरु बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाल देशको अवस्था दयनीय र जर्जर छ । चारैतिर असन्तुष्टिहरु व्यापक छन् । देशको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सीमित छ । कुल उत्पादनमा उद्योग क्षेत्रको योगदान झन् घट्दै १२ प्रतिशतमा पुगेको छ । कुल ग्रार्हस्थ्य उत्पादनको अनुपातमा आप्रवाह २२.७ प्रतिशत रहेको छ भने तिर्न बाँकी कुल ऋण ४१.२ प्रतिशत रहेको छ । आप्रवाह ठ.लो भएका देशहरुमा नेपाल ११औँ स्थानमा छ ।’