ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागु पदार्थलाई नाइँ भनौँ’ [भिडिओ]

8
  • आकाङ्क्षा धामी

काठमाडौँ, १२ असार । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस’ मनाइन्छ । यस दिवसले लागुपदार्थको दुरुपयोग, अवैध ओसारपसार तथा त्यसबाट सिर्जित सामाजिक, आर्थिक र स्वास्थ्यजन्य समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्य राख्छ ।

यसै सन्दर्भमा नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा लागुपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाका अभियन्ता ऋषि ओझाले नेपालमा लागुपदार्थको बढ्दो प्रयोग, रोकथामका चुनौती, कानुनी सुधारको आवश्यकता तथा पुनःस्थापनाका उपायबारे आफ्नो धारणा व्यक्त गर्नुभएको छ ।

‘जस्ट से नो टु ड्रग’ अभियानका अगुवा
ओझाले आफू विगत पाँच दशकदेखि लागुपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाको क्षेत्रमा सक्रिय रहेको बताउनुभयो । उहाँले जापानस्थित विभिन्न शैक्षिक संस्थाबाट लागु पदार्थ तथा मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गरी नेपालमा यस विषयमा औपचारिक रूपमा डिप्लोमा हासिल गर्ने पहिलो व्यक्तिमध्ये एक भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म करिब ५० वर्षदेखि लागुपदार्थ र मादक पदार्थ प्रतिकारत्मक शिक्षामा काम गरिरहेको छु । लागुपदार्थ तथा मादक पदार्थसम्बन्धी टोकियोको जेके युनिभर्सिटी र टोकियो मेट्रोपोलिटन साइक्याट्री रिसर्च इन्स्टिच्युटबाट डिप्लोमा गरेको हुँ । तत्कालीन अवस्थामा यसमा विषयगत डिप्लोमा गर्ने व्यक्ति म नेपालमा पहिलो भएर आएको थिएँ ।”

उहाँले नेतृत्व गरेको ‘जस्ट से नो टु ड्रग’ अभियान नेपालमा करिब ४० वर्षअघि सुरु भएको थियो । अहिले उक्त अभियानलाई नेपाली भाषामा ‘लागु पदार्थलाई नाइँ भनौँ’ भन्ने सन्देशसहित अघि बढाइएको छ ।

उहाँका अनुसार अब केवल नारामा सीमित नभइ व्यवहार परिवर्तन, परिवार, विद्यालय, समुदाय र राज्यका निकायलाई समेटेर एकीकृत रूपमा लागु पदार्थविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक छ ।

बदलिँदो स्वरूप, बढ्दो चुनौती
ओझाका अनुसार विगतमा हेरोइन, ब्राउन सुगर र ह्वाइट सुगरजस्ता लागु पदार्थको प्रयोग बढी हुने गथ्र्यो, जसका असर छिट्टै देखिन्थे । तर, अहिले साइकोट्रोपिक (मानसिक प्रभाव पार्ने) औषधिहरूको प्रयोग बढेको छ, जसका लक्षण क्रमशः देखिने भएकाले समस्या पहिचान गर्न कठिन भइरहेको छ ।

उहाँले जनसङ्ख्या वृद्धि, बेरोजगारी, सामाजिक दबाब तथा फुर्सदिलो समयको सदुपयोग हुन नसक्दा किशोरकिशोरी र युवामा लागुपदार्थ प्रयोगको जोखिम बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले र अहिलेको स्थिति फरक छ । पहिला ब्राउन सुगर अनि ह्वाइट सुगर, हेरोइनहरु डाइरेक्ट प्रयोग हुन्थ्यो । चाँडै लागुपदार्थका प्रयोगकर्ताहरुको लक्षणहरु देखा पर्थे । अहिले साइकोट्रपिक ड्रगहरु धेरै प्रयोग हुन थालेको छ । त्यो साइकोट्रपिक ड्रगहरु प्रयोग गर्दा लक्षणहरु बिस्तारै मात्रै देखिन्छ । एक्कासी देखिँदैन । त्यसैले हिजोको अवस्थाभन्दा अहिले बदलिएको छ । देशमा जनसंख्या र बेरोजगारीको सङ्ख्या बढेको छ । त्यसैले पहिलेभन्दा अदृश्य रुपमा किशोर–किशोरी र युवामा लागु पदार्थको बढ्दो छ ।”

उहाँले युवालाई शिक्षा, सीप विकास र खेलकुदजस्ता सकारात्मक गतिविधिमा संलग्न गराउन सके लागु पदार्थको प्रयोग स्वतः घट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “युवालाई इन्गेज गराउन सकेका छैनौँ, बाँकी रहेको समयमा उसलाई खेलकुद वा अन्य गतिविधितिर इन्भल्भ गराउनुपर्छ । त्यसका कारण लागुपदार्थ प्रयोग गर्दैन ।”

खुला सीमा र तस्करीको जोखिम
नेपालमा लागुपदार्थ उत्पादन नहुने भए पनि खुला सीमा नाकाका कारण भारतबाट विभिन्न लागुपदार्थ भित्रिने गरेको ओझाको भनाइ छ । उहाँका अनुसार नेपाल प्रहरीले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित निगरानी तथा कारबाही गरिरहेको भए पनि खुला सीमाका कारण चुनौती कायमै छ ।

“लागु पदार्थको समस्या केवल नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो । तर, हाम्रो भौगोलिक अवस्था र खुला सीमाले यसलाई अझ जटिल बनाएको छ,” उहाँले भन्नुभयो ।

कानुनी सुधारको आवश्यकता
ओझाले लागुऔषध नियन्त्रणसम्बन्धी कानुन समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार वर्तमान कानुन करिब चार दशकअघिको हो । अहिलेको परिस्थितिअनुसार परिमार्जन आवश्यक छ ।

उहाँले लागुपदार्थ सेवनकर्तालाई अपराधीभन्दा पनि उपचार आवश्यक पर्ने व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यद्यपि, लागुपदार्थको अवैध कारोबार र तस्करीमा संलग्न व्यक्तिमाथि भने कडा कानुनी कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।

“हाम्रो लागुऔषध नियन्त्रणसम्बन्धी ऐन करिब ४०–४५ वर्षअघिको सन्दर्भमा बनेको हो । अहिलेको सामाजिक अवस्था, लागुपदार्थको स्वरूप र चुनौतीहरू परिवर्तन भइसकेका छन् । त्यसैले ऐनलाई समयानुकूल संशोधन गर्न आवश्यक छ । लागुपदार्थ सेवन गर्ने व्यक्तिलाई केवल अपराधीका रूपमा होइन, उपचार र पुनःस्थापना आवश्यक पर्ने बिरामीका रूपमा हेर्नुपर्छ । उनीहरूलाई उपचार, परामर्श र पुनःस्थापनाको अवसर प्रदान गरिनुपर्छ । तर, लागुपदार्थको अवैध कारोबार, ओसारपसार र तस्करीमा संलग्न व्यक्तिहरूमाथि भने अझ कडा कानुनी कारबाहीको व्यवस्था हुनुपर्छ । कानुन, उपचार र पुनःस्थापनालाई सन्तुलित रूपमा अगाडि बढाउन सके मात्र लागुपदार्थ नियन्त्रण प्रभावकारी हुन सक्छ ।”

सेवनकर्तालाई उपचार र पुनःस्थापनामा केन्द्रित गर्नुपर्ने तथा तस्करमाथि कडा सजायको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुनःस्थापनाको अभाव
नेपालमा सञ्चालन भइरहेका अधिकांश उपचार तथा पुनःस्थापना केन्द्रहरूमा प्रारम्भिक उपचार र डिटक्सिफिकेसनमा बढी ध्यान दिइने भए पनि दीर्घकालीन सामाजिक पुनःएकीकरणका कार्यक्रम पर्याप्त नभएको ओझाको भनाइ छ ।

उहाँका अनुसार उपचारपछि व्यक्तिलाई सीपमूलक तालिम, रोजगारी तथा सामाजिक पुनःस्थापनासँग जोड्न नसक्दा पुनः लागुपदार्थ प्रयोगमा फर्किने समस्या देखिएको छ ।

“उपचारपछि समाज र परिवारको सकारात्मक साथ आवश्यक हुन्छ । समाजले ‘लागुपदार्थ प्रयोगकर्ता’ भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्न सके मात्रै पुनःस्थापना सफल हुन सक्छ,” उहाँले भन्नुभयो ।

परिवार र विद्यालयको भूमिका महत्त्वपूर्ण
ओझाले लागुपदार्थ नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले अभिभावकले आफ्ना सन्तानको दैनिक गतिविधि, साथीभाइको सङ्गत, अध्ययन अवस्था तथा व्यवहारमा आएको परिवर्तनबारे नियमित निगरानी गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, शिक्षकहरूलाई पनि विद्यार्थीको व्यवहारिक परिवर्तन पहिचान गर्ने तालिम आवश्यक रहेको उहाँको धारणा छ ।

“साथीभाइको दबाव, सामाजिक सञ्जालको प्रभाव र फुर्सदिलो समयको गलत प्रयोगले धेरै युवा लागुपदार्थतर्फ आकर्षित भइरहेका छन्, लागुपदार्थ नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । अभिभावकले आफ्ना सन्तानको दैनिक गतिविधि, साथीभाइको सङ्गत, अध्ययन अवस्था तथा व्यवहारमा आएको परिवर्तनबारे नियमित निगरानी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

जनचेतना र व्यवहारिक शिक्षा आवश्यक
ओझाले लागुपदार्थ सेवन नगर्नू भन्ने सन्देश मात्र पर्याप्त नभएको बताउनुभयो । उनका अनुसार लागुपदार्थ सेवन गर्दा शारीरिक, मानसिक, बौद्धिक, पारिवारिक, सामाजिक तथा आर्थिक रूपमा पर्ने असरबारे व्यवहारिक शिक्षा दिन आवश्यक छ ।

उहाँले कानुनी साक्षरताको महत्त्वसमेत औँल्याउँदै युवाहरूलाई लागुपदार्थ सेवन र कारोबारका कानुनी परिणामबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “लागुपदार्थ नखाऊ भन्ने सन्देश मात्र दिएर पुग्दैन । युवाहरूलाई लागूपदार्थ सेवन गर्दा शरीर, मानसिक स्वास्थ्य, बौद्धिक क्षमता, परिवार, समाज र आर्थिक अवस्थामाथि कस्तो असर पर्छ भन्ने विषयमा व्यवहारिक र तथ्यमा आधारित शिक्षा दिन आवश्यक छ । साथै, लागुपदार्थ सेवन वा यसको कारोबारमा संलग्न हुँदा कानुनी रूपमा के–कस्ता परिणाम भोग्नुपर्छ भन्ने जानकारी पनि युवाहरूलाई दिनुपर्छ । जब उनीहरूले यसको स्वास्थ्य, सामाजिक र कानुनी प्रभावबारे स्पष्ट रूपमा बुझ्छन्, तब मात्र लागुपदार्थबाट टाढा रहने चेतना र जिम्मेवारी विकास हुन्छ ।”

लागुपदार्थमुक्त समाज निर्माणको आह्वान
ओझाले लागुपदार्थमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय तह, विद्यालय, अभिभावक, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“लागुपदार्थ सेवन नगर्ने, स्वस्थ जीवनशैली अपनाउने र सकारात्मक गतिविधिमा सहभागी हुने संस्कार विकास गर्न सके मात्र हामी लागुपदार्थमुक्त समाजतर्फ अघि बढ्न सक्छौँ,” उहाँले भन्नुभयो ।

उहाँले नीति निर्माणदेखि समुदायस्तरसम्म समन्वित प्रयास भए मात्र स्वस्थ, सक्षम र जिम्मेवार युवा पुस्ता निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...