गिरीबन्धुको फाइल खोलेर कांग्रेसलाई दण्डित गरियोस् : विश्वप्रकाश शर्मा

152

काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री तयार हो कि होइन भन्दै प्रश्न गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उहाँले कांग्रेसले ७० विगाह जग्गा बेचेर कमिसन खाएको आरोप लागेको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँ गृहमन्त्रीलाई खोज्न सोध्न चाहन्छु– सत्ता गठबन्धनको सबैभन्दा ठुलो दलका अध्यक्षले कांग्रेसले गिरीबन्धुको ७० बिगाह जग्गा बेचेर कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाईं गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? मलाई थाहा छ खोल्न होइन, उहाँ बोल्न पनि सक्नुहुन्न ।’

गिरीबन्धु प्रकरणको बारेमा कांग्रेसले केही टिप्पणी नगर्दा पनि पूर्वप्रधानमन्त्रीले कांग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै झुठो आरोपप्रति प्रतिवाद गर्दा कांग्रेसले बन्देज अनुभूति गर्नुपर्ने कुरा मान्य नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गर्‍यो, काङ्ग्रेसबाट त्यसबारे कुनै टिप्पणी भएको थिएन । हामी कसैले पनि पूर्वप्रधानमन्त्रीज्यू तपाईंको नेतृत्वको सरकारले गरेको निर्णयलाई अदालतले नीतिगत भ्रष्टाचारको दायरामा ल्याएर उभाएको छ । हामी बोलेकै थिएनौँ । तर, उहाँले कांग्रेसले गिरीबन्धुको ७० बिगाह जग्गा बेचेर कमिसन खायो, के यो आरोप सही थियो ? यसरी आरोप आएपछि हामीले मौन धारण गर्न नसकेर प्रतिवाद गरेको हो ।’

यस्तै, उनले न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी भएको भन्दै संघले त्यहाँ कुनै पनि प्रकारको हस्तक्षेप नगरी बालेनलाई काम गर्न दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौँको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेका पार्टीका प्रतिनिधिहरुलाई भन्दा हुन्छ नि । उनीहरुले बोल्ने शैली परिवर्तन गर्नु भनेर भन्दा हुन्छ नि । तर आफैँ बोल्नुभयो । यो प्रकरणमा म एउटा मात्र कुरा भन्न चाहन्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित हुनुपर्छ । न्युरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिनुपर्छ । संघले त्यहाँ कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’

प्रधानमन्त्रीको उचाइमा पुगिसकेको नेताहरुले जोसँग पनि जुहारी खेल्न मैदानमा जान नहुने भन्दै यस्तो तरिकाको अभिव्यक्ति पूर्वप्रधानमन्त्रीलाई शोभा नदिने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...