खलंगा, २ जेठ । दार्चुलामा यार्सागुम्बा संकलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलनको ४ दिनपछि उद्धार गरिएको छ ।
घाइते यार्सा संकलकहरूको आज बिहान ९ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।
चट्याङबाट घाइते यार्सागुम्बा संकलकहरूको उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम खलंगामै थन्किएको थियो ।
शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन यार्सागुम्बा संकलक घाइते भएका थिए । चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए ।
उनीहरू गाउँलेसँगै यार्सागुम्बा संकलनका लागि हिमाली भेग उक्लेका थिए । दार्चुलाको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा संकलन गरिन्छ ।