चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम साहले पार्टीमा कुनै गुटउपगुट नभएको बताउनुभएको छ । रास्वपाको महाधिवेशनस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टीमा कुनै गुट उपगुट छैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।” उहाँले सभापतिको प्रस्तावक स्वयम् प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताउनुभयो । उहाँले थप्नुभयो, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।”
संविधान संशोधन कार्यदलको संयोजक रहनुभएका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौँ ।”