- केदार मगर
खोटाङ, १० असार । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले २०७६ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभयो । कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट एसइई उत्तीर्ण गरेको केही समयपछि एलिना सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिनुभयो ।
एलिना र दिनेशका दुई सन्तान (छोरा र छोरी) छन् । विवाहलगत्तै लगातार दुई सन्तानलाई जन्म दिनुभएका एलिना र दिनेशका छोरा कक्षा–३ मा तथा छोरी कक्षा–२ मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा अध्ययनरत छन् ।
एसइई उत्तीर्ण गरेको चार वर्षपछि छोराछोरीसँगै आफ्नो पढाइलाई निरन्तरता दिनुभएकी एलिनाले यस वर्ष २.८४ जिपिए अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्नुभएको छ । विवाह बन्धनमा बाँधिएका कारण बिचैमा पढाइ छाड्नुभएकी एलिनाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाट कक्षा–१२ उत्तीर्ण गर्नुभएको हो ।
एलिनासँगै शिक्षा राईले २.७५ जिपिए, देवका राईले २.६२ जिपिए र सुस्मिता राईले २.३३ जिपिएर अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्नुभएको पृथ्वी माविका शिक्षक दिनेशकुमार राईले जानकारी दिनुभयो । एलिनासहित चार विवाहित महिलाले केपिलासगढी गाउँपालिकाले सञ्चालन गरेको ‘बुहारी शिक्षा’ कार्यक्रमअन्तर्गत कक्षा–१२ उत्तीर्ण गर्नुभएको हो ।
केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित रेनुका माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नुभएकी देवकाले वडा नम्बर ७ सुङ्देलमा विवाह गर्नुभएको हो । एक छोरालाई जन्म दिएपछि देवकाले आफ्नो पढाइलाई निरन्तरता दिनुभयो ।
केपिसालगढी गाउँपालिका–३ बाक्सिला स्थायी घर भएकी शिक्षाले पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाबाटै एसइई उत्तीर्ण गर्नुभएको थियो । शिक्षाले दुई छोरालाई हुर्काउँदै आफ्नो पढाइलाई निरन्तरता दिनुभयो । ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा जन्मनुभएकी सुस्मिताले सोही ठाउँको कालिका माविबाट एसइई उत्तीर्ण गर्नुभएको थियो । केपिलासगढी गाउँपालिका–३ बाक्सिलामा विवाह गरेर एक छोरा र एक छोरीलाई जन्म दिएपछि सुस्मिता पुनः विद्यार्थी जीवनमा फर्किनुभएको हो ।
सात वडा रहेको यो गाउँपालिकामा शैक्षिकसत्र २०७९/८० देखि सुरु भएको उक्त कार्यक्रम छोटो समयमै प्रभावकारी बन्दै गएको पाइएको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन गरिएको बुहारी शिक्षा कार्यक्रम अन्तरगत हालसम्म विभिन्न वडाका १२ विवाहित महिलाले सेवा लिइसकेका गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभयो ।
बिहेपछि पनि पढ्न इच्छुक बुहारीले कम्तीमा कक्षा–८ उत्तीर्ण गरेको हुनुपर्ने र त्यस्ता इच्छुक बुहारीलाई कक्षा–१२ सम्म नाम लेखाउन, फर्म भर्न, पुस्तक, पोसाक, स्टेसनरीलगायतमा गाउँपालिकाले सहयोग उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले कार्यपालिकाको बैठकमार्फत बुहारीलाई कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रमुख खनालले बताउनुभयो ।
पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले ‘बुहारी शिक्षा’ कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख समिर राईले बताउनुभयो ।
“घरमा आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ । त्यही भएर बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजनाअन्तरगत बुहारी शिक्षा कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “महिला हरेक हिसाबले आत्मनिर्भर बन्नुपर्छ । तब मात्रै समाज परिवर्तन सम्भव छ । कक्षा–१२ उत्तिर्ण गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफैँ अघि बढ्लान् । गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको सेवा लिएर समाजमा अगुवाइ गर्लान् भन्ने अपेक्षासहित बुहारी शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।”
गाउँपालिकामा सामुदायिकतर्फ एक प्रस्तावितसहित आठ माध्यमिक विद्यालय सञ्चालनमा छन् । पढ्न इच्छुक बुहारीले गाउँपालिकाभित्र आफूलाई पायक पर्ने जुनसुकै शैक्षिक संस्थामा गएर अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको प्रमुख राईले बताउनुभयो । घरायसी कामले विद्यालय जान नसक्ने बुहारीका लागि निःशुल्क अभ्यास कक्षाको व्यवस्थासमेत मिलाइएको छ । पढ्न इच्छुक बुहारीको तथ्याङ्कक र आवेदन सङ्कलनका लागि गाउँपालिकाको शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ । –रासस