काठमाडौँ, १५ फागुन । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो ।
बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० मा भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नगएको र प्रधानमन्त्री प्रचण्डले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए ।
“आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन गर्नुभएन र अरू दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर, पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ । उहाँले एमाले सरकारबाट नहटे विनाविभागीय मन्त्रीको रूपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ,” उनले भने ।