- सन्तोष गौतम
म्याग्दी, ३१ वैशाख । धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो ।
शरद र वसन्त याममा विश्वको सातौँ अग्लो (आठ हजार १७६ मिटर) धौलागिरि हिमाल आरोहण गर्ने र धौलागिरिको फेदी हुँदै मुस्ताङको मार्फा निस्कने चक्रीय धौलागिरि पदमार्गमा आउने पर्यटकले भरिभराउ हुने मुदी अहिले सुनसान छ ।
पर्यटक, पथप्रर्दशक र मजदुरहरुको लहर देखेर मुदीमा धौलागिरि सामुदायिक घरवास स्थापना गरेका व्यवसायी गणेश घर्ती अहिले व्यवसाय बन्द गरेर बाख्रापालन सुरू गर्नुपरेको बताउनुहुन्छ । “यहाँका दुई क्याम्पमा क्षमताभन्दा बढी पर्यटक आएको देखेर उनीहरुको सुविधाका लागि ‘होमस्टे’ सञ्चालनमा थिए,” उहाँले भन्नुभयो “पछिल्लो समय पर्यटकहरु सिधैँ हेलिकोप्टर चढेर आधार शिविर पुग्न थालेपछि ‘होमस्टे’ बन्द गरेर बाख्रा पाल्न थालेको छु ।” मुदीमा रहेका करिब ५० जना क्षमताका पाँच घरबास सञ्चालकको मात्र नभएर याममा पर्यटकको भारी बोकेर जीविकोपार्जन गरिरहेकाहरुको रोजगारी खोसिएको उहाँले गुनासो गर्नुभयो ।
पर्यटक र पर्वतारोहीहरु हेलिकोप्टर चढेर सिधैँ आधार शिविर पुग्नुका साथै जलविद्युत् आयोजनाहरुले निर्माण गरेको पहुँचमार्गले पदमार्ग मासिएको र नौ दिनको यात्रा दुई दिनमा छोटिदा मुदी, नाउरा, बगरका सन्नटा छाएको धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तीले बताउनुभयो । “पर्वतारोहीहरु हेलिकोप्टरबाट आधार शिविर पुग्छन्, हेलिकोप्टरबाटै सामान ओसार्छन्, बेनीदेखि नौ दिन लाग्ने धौलागिरि आधार शिविर पुग्न दोभानसम्म सडक पुगेपछि दुई दिनमा छोटिदा पदमार्गका बस्तीहरु छलिएका हुन्,” उहाँले भन्नुभयो “धौलागिरि फेदीका बस्तीका बासिन्दाहरु प्राकृतिक स्रोतको लाभबाट बञ्चित भएका छन् ।”
मुदी–गुर्जा पदमार्गको सम्भाव्यता अध्ययन गर्न र धौलागिरि संरक्षण क्षेत्र बनाउन घर्तीद्वयले माग गर्नुभयो । ‘फोरटिन पिक्स एक्सपिडिसन’का स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनका अनुसार भरियालाई सामान बोकाउनुको विकल्पमा हेलिकोप्टरबाट ढुवानी गर्दा सस्तो पर्ने भएकाले पर्यटक र पर्वतारोहीहरुले पदयात्रा प्रयोग गर्न छाडेका हुन् ।
धौलागिरि फेदीमा आरोहण दिवस
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए । पर्यटन विभागका अनुसार ६६ वर्षमा ७३३ जनाले धौलागिरि आरोहण गरेका छन् । धौलागिरि फेदीमा रहेको मुदीमा बुधबार ६६औँ आरोहण दिवसको अवसरमा छोटिएको पदमार्ग, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र विकल्पको खोजीमा सरोकारवालाहरुबीच बहस र छलफल भयो ।
गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पहिलो पटक हिमाल अवस्थित वडाको भूगोलमा दिवस मनाइएको हो । कार्यक्रममा वक्ताले पदयात्रा मार्गमा सडक पुग्दा विदेशी पर्यटक र पदयात्राको समय घटेको तथा धवलागिरि सर्किटमा पूर्वाधार अभाव भएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
समारोहमा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धवलागिरि लगायत गण्डकी प्रदेशका हिमालको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउने गरी पर्यटकको आगमन हुने बताउनुभयो । “जलवायु परिवर्तनको असर हाम्रो हिमालमा परेको छ,” उहाँले भन्नुभयो “हिमालको अस्तित्व जोगिए मात्रै मानव सभ्यताको अस्तित्व जोगिन्छ ।”
प्रदेशसभा सदस्य रेशम जुग्जालीले जनताले आफ्नो गाउँमा मोटरबाटो पुगेको एउटै सपना देख्ने भएकाले वैकल्पिक पदमार्गको विकास र आन्तरिक पर्यटक केन्द्रीत कार्यक्रम आवश्यकता रहेको बताउनुभयो । “अन्नपूर्ण क्षेत्रबाट धवलागिरिका बासिन्दाहरुले पर्यटन विकास र कसरी फाइदा लिने भनेर सिक्नुपर्छ,” उहाँले भन्नुभयो, “धौलागिरि संरक्षण क्षेत्रको बहस चलेपनि प्राकृतिक स्रोतसाधनको उपयोगमा वञ्चित गराइने हो कि भनेर स्थानीय सशंकित छन् ।”
दोभान देखि सल्लाधारी हुँदै इटाली आधार शिविरसम्म सडक विस्तारको सम्भावना नभएको र त्यहाँ पर्यटकहरुलाई आवासको समस्या रहेकाले त्यो क्षेत्रमा ब्यवसाय विस्तार गर्न सांसद जुग्जालीले मुदीबासीलाई सुझाग दिनुभयो ।
धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धवलागिरि सर्किटसँगै गुर्जाबाट डोल्पा निस्कने रूट, ढोरपाटन शिकार आरक्ष जोड्ने रूटको पनि विकास प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।
पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले धवलागिरिको महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले हिमाल आरोहणमा स्थानीयले पहल लिनुपर्ने सुझाउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख रविन कडरियाले एक्यापकै मोडेलमा धवलागिरि संरक्षण क्षेत्र विकास गर्न सके यहाँको सम्भावना प्रचुर रहेको बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धवलागिरिलाई एक्यापको मोडेलमा लैजान उपयुक्त हुने बिचार व्यक्त गर्नुभयो । –रासस