रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद थापाको कडा टिप्पणी

16

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)का सांसद राम बहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति, शासन शैली र राजनीतिक उद्देश्यबारे गम्भीर प्रश्न उठाउनुभएको छ ।

बैठकमा बोल्दै उहाँले सरकारले सत्ता सम्हालेपछि संसद् अधिवेशन स्थगन गरी एकै पटक ८ वटा अध्यादेश जारी गर्नु गम्भीर राजनीतिक संकेत भएको दाबी गर्नुभयो ।

उहाँका अनुसार यस्तो कदमले राज्यका प्रमुख संरचना विशेषगरी प्रशासन र न्याय प्रणालीमा एकल राजनीतिक प्रभुत्व कायम गर्ने प्रयास देखिन्छ ।

उहाँले भन्नुभयो, “प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्‍यो । यसको राजनीतिक लक्ष्य राज्यको प्रशासनतन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो । यो लक्ष्य प्राप्त गर्न रास्वपा सफल रहयो ।”

उहाँले थप आरोप लगाउँदै रास्वपाको उदयलाई कुनै दीर्घ राजनीतिक संघर्ष वा विचारधारागत योगदानको परिणाम नभएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यो सफलता दशकौँदेखि पुराना सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको परिणाम हो, जसमा आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), एल्गोरिदम र अन्तर्राष्ट्रिय भूराजनीतिक प्रभावहरूको पनि भूमिका रहेको छ ।

“रास्वपाले देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा वा क्षमताबाट प्राप्त गरेको कदापी हैन । यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरुले गरेका कमजोरीहरुको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रभावहरुको कुल परिणाम थियो,” उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समेत उल्लेख गर्दै त्यसलाई रास्वपाको नयाँ राजनीतिक दिशासँग जोड्ने प्रयास गर्नुभयो । उहाँका अनुसार उक्त नीति कार्यक्रमले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय तहमा एकल नेतृत्व स्थापना गर्ने संकेत दिएको छ ।

बादलले रास्वपाको राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै यसलाई स्पष्ट वैचारिक आधार नभएको शक्ति भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “रास्वपा कुनै सुशङ्गत वैज्ञानिक विचारधारामा आधारित दल होइन । यो आकस्मिक रूपमा उत्पन्न भएको, अत्यन्त महत्त्वाकांक्षी र अराजक समूहहरूको अस्थायी गठजोड हो ।”

उहाँले कुनै पनि नीति तथा कार्यक्रम राष्ट्रको विकास, समृद्धि, दिगो शान्ति, स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र र राष्ट्रियताको प्रवर्धनका लागि मार्गदर्शक हुनुपर्ने भए पनि व्यवहारमा राजनीतिक नेतृत्वको भूमिका निर्णायक हुने पनि बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...