काठमाडौँ, १५ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग दुई महिना हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साँच्चै गाह्रो भएको बताएका छन् । काठमाडौँमा आइतबार भएको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले व्यङ्ग्यात्मक शैलीमा प्रचण्डलाई गाह्रो भएको बताएका हुन् ।
यसअघि शनिबार एक कार्यक्रममा प्रचण्डले ओलीसँग हुँदा आफूलाई गाह्रो भएको बताएका थिए । त्यसैको जबाफमा ओलीले भने– हो साँच्चै गाह्रो भएको थियो उहाँलाई । हरियो देख्नै नहुने, दाम्लो चुँडाएर जान खोज्ने मैले रोकिदिने ।
प्रचण्ड आफूसँग धेरै नटिक्नेबारे पनि आफूलाई पहिला नै थाहा भएको ओलीले बताए । “गाह्रो त गाह्रो परेको थियो के उहाँलाई, दाम्लो छिनालेर जान खोज्ने झ्याप्पै मुख लगाउन खोज्ने, तानिदिएपछि गाह्रै भएको थियो,” ओलीले भने, “मलाई थाहा थियो उहाँ टिक्क सक्नुहुन्न ।”
उनले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाए । “एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन । कचौरामा दुध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ,” उनले भने ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकिर गरे । ओलीले २०६२÷६३ पछि त्यति लामो समयसम्म सरकारमा माओवादी जति अरू कोही नबसेको दाबी गरे ।
उनले प्रधानमन्त्री प्रचण्डले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप लगाए । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले आफूलाई छक्याएको, धोका दिएको समेत बताए । प्रधानमन्त्री प्रचण्डले सहिद, घाइते परिवारसमेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठुलो कुरा नभएको पनि बताए ।
“परिवारका मान्छे धनी नै भएका होलान् । भान्जाभान्जी पनि राम्रै ठाउँमा पुगेका होलान् । भाइ भतिज पनि राम्रै ठाउँमा पुगेका होलान् । छोरी जुवाइँ पनि राम्रै ठाउँमा पुगेका होलान् । तर, अहिले प्रधानमन्त्रीजीले घाइते सम्झनुभएको छ कि छैन ? सहिदका परिवार सम्झनुभएको छ कि छैन ? आफ्नै स्वार्थ, आफ्नै परिवार मात्रै सम्झनुहुन्छ कि अरूलाई नि सम्झनुहुन्छ ?,” उनले भने ।
उनले प्रधानमन्त्री प्रचण्डलाई काम र कुरा बेग्ला–बेग्लै गर्ने व्यक्ति भएको दाबी गरे । “जनताका समस्या समाधान गर्नेगरी अगाडि बढौँ । देशको समय मात्रै बर्बाद नगरौँ । आफ्ना स्वार्थमा केन्द्रित हुने होइन । जनताका समस्या समाधान गर्नेगरी अगाडि बढौँ भनेर यो प्रयास गरियो । तर, पुष्पकमल दाहालजीको बेग्लै । उहाँ बोल्नुहुन्छ एउटा काम अर्कै गर्नुहुन्छ । हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिनेपट्टि हुन्छ,” उनले भने ।
उनले आफूलाई पनि झुक्याउन खोजेको तर प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको ओलीको दाबी थियो । “उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो । तर, फूल भनेर झुक्याउन खोज्नुभयो,” उनले भने, “मेरो आँखाले धोका खाएको थिएन । तपाईंले भनेपछि फूलै हो भनेर बसेँ ।”