खाँदबारी–किमाथांका सडकको ट्रयाक १८ महिनामै सम्पन्न गर्ने छौँ : दीपक खड्का

97

खाँदबारी, २१ कात्तिक । सङ्खुवासभामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक खड्काले जिल्लाको समृद्धिका लागि जनताको साथ, हात र मत चाहिएको बताएका छन् ।

मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खड्काले भने, “समृद्ध सङ्खुवासभा निर्माणका लागि मलाई तपाईंहरूको साथ चाहियो, तपाईंहरूको हात चाहियो, तपाईंहरूको मत चाहियो ।”

सम्बोधनकै क्रममा खड्काले जोगवनी–किमाथांका सडको ट्रयाक ओपनिङको काम १८ महिनाभित्र सम्पन्न हुने कुरामा द्विविधा नरहेको बताए ।

सङ्खुवासभामा खाँदबारीबाट किमाथांका जोड्ने सडक निर्माण मुख्य चुनावी एजेन्डा हो । कांग्रेस जिल्ला सभापतिसमेत रहेका खड्काले भारत र चीनलाई छोटो दुरीमा जोड्ने यो सडको ट्रयाक अब १८ महिनामै सम्पन्न हुने खुसीको खबर नुमवासीलाई सुनाए ।

पाँच वर्षमा एमालेको सरकार र उसका सांसदले सङ्खुवासभामा एक रूपैयाँ पनि राष्ट्रिय बजेट नदिएको खड्काले दोहोर्‍याए । एमालेका जनप्रतिनिधिले पाँच वर्षको अवधि जागिर खाएरै बिताएको उनले बताए । त्यसकारण जिल्ला विकासमा २५ वर्ष पछाडि परेको खड्काले बताए । अनि, एमालेको सरकारले रद्द गराएका सङ्खुवासभाका विकास आयोजना पुनः कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताए ।

वाम–लोकतान्त्रिक गठबन्धनबाटै प्रदेशसभा ‘क’ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्कीले मकालुमा विद्युत् सबस्टेसन स्थापना गरी पालिकाका सबै वडा र छिमेकी पालिकामा पनि बिजुली पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । सबै वडामा सडक र स्वास्थ्य चौकी पर्‍याउने विषयलाई पनि आफूहरूले जितेर गएपछि प्राथमिकतामा राखेर कार्म गर्ने उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...