सिलिचोङ जोड्ने पुल र सडक निर्माण मेरो जिम्मेवारी : दीपक खड्का

39

खाँदबारी, ४ कात्तिक । सङ्खुवासभामा सत्ता गठबन्धनकाबाट प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले जिल्लाको दुर्गम सिलिचोङ गाउँपालिका जोड्ने सडक र पुल निर्माण आफ्नो जिम्मेवारी भएको बताएका छन् ।

सिलिचोङको केन्द्र ताम्कुमा आयोजित गठबन्धन दलहरूको भेलालाई सम्बोधन गर्दै खड्काले सदरमुकाम खाँदबारीबाट नजिक रहेर पनि विकासमा पछाडि परेको सिलिचोङका बासिन्दाको कष्टबारे आफू पूर्ण जानकार रहेको बताए । उनले भने, “यो गाउँपालिका जोड्ने सडक र पुल निर्माण मेरो जिम्मा भयो, गर्ने इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्नेमा विश्वास गर्छु ।”

“म जे बोल्छु, गरेर देखाउँछु,” उनले अगाडि भने, “झन्डै साढे २ वर्ष लाग्दो रहेछ पुल निर्माण सक्न । ढिलासुस्ती गर्ने ठेकेदारलाई पुच्छर निमोठ्न मात्र बाँकी छ । बजेट पुगेन भने बजेट ल्याउने काम मेरो हो । यो सडक निर्माण गर्ने काम यही गठबन्धनले गर्छ । यदि कहीँ कतै गठबन्धन रहेन भने तपाईंको उम्मेदवार तपाईंहरूले विजय गराउँदै गर्दा म गर्छु ।”

पालिका अध्यक्ष र उपाध्यक्ष तथा वडामा पनि गठबन्धनकै जनप्रतिनिधि निर्वाचित भएको खड्काले उल्लेख गरे । विगतमा खर्च हुन नसकेर बजेट फ्रिट भएको उल्लेख गर्दै उनले अब बजेट अपुग भएमा जुटाउने काम संघीय सांसदको भएकाले त्यो आफूले गर्ने बताए । तर, जनप्रतिनिधिले जनताले प्रश्न गर्ने गरी काम गर्न नपाउने उनले बताए । र त्यसको निगरानी पनि आफूहरूले गर्ने बताए ।

खाँदबारीबाट ३४ किमि टाढाको सिलिचोङ जोड्ने अरूण नदीको पुल निर्माण र सडक स्तरोन्नति नहुँदा गाउँपालिकाका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन् ।

स्रोतः माउन्टेन दैनिक

Share This:
सम्बन्धित खबर
Loading...