वर्षाले अरुण भ्याली गोल्डकप प्रतियोगिता सर्‍यो

230

खाँदबारी, २६ असोज । कात्तिक १ गतेदेखि सुरू हुने भनिएको ‘अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्डकप फुटबल’ प्रतियोगिता स्थगित भएको छ । निरन्तर वर्षाका कारण खेल मैदान हिलाम्मे भएपछि आयोजक एडभान्स क्लब मानेभञ्ज्याङले प्रतियोगिता स्थगन गरेको हो ।

उक्त प्रतियोगिता आगामी मंसिर १३ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक एडभान्स क्लबका अध्यक्ष ईश्वर धिमिरेले जानकारी दिए । उनले सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, “प्रतिकूल मौसमको कारण धेरै शुभचिन्तकहरुको सल्लाहअनुसार अरुण भ्याली गोल्डकप फुटबल प्रतियोगिता स्थगित गरिएको जानकारी गराइन्छ ।” उक्त प्रतियोगिता मंसिर १३ देखि १७ मा सञ्चालन हुने उनको भनाइ छ ।

महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा दुई विदेशी टोलीसहित ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा क्यामरूनको एभिनियर फुटबल क्लब, वेस्ट बंगालको आमुक्त फुटबल टिम, धनकुटा, भोजपुर, सुनसरी र सङ्खुवासभाका टोली सहभागी हुने छन् ।

प्रतियोगिताको विजयी टिमले ३ लाख र उपविजेताले २ लाख रूपैयाँ पुरस्कार पाउने छन् ।

फुटबल प्रतियोगितामा करिब ३७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।

यो पनि हेर्नुस्
मानेभञ्ज्याङमा अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने

Share This:
सम्बन्धित खबर
Loading...