काठमाडौँ, १९ साउन । काठमाडौँ महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्यास र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ । लामो समयसम्म ग्यास नपाएको, पहुँच हुनेले मात्र ग्यास पाएको, विद्यार्थीहरुमा ग्यासका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्यास डिपोमा भएको ग्यास वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो ।
“बजारमा उपलब्ध भएको ग्यासलाई सन्तुलित वितरण मिलाउन हाम्रो भूमिका हुनेछ,” डिपोहरुको अवस्था हेर्न पुगेका प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भन्नुभयो, “डिपोमा उपलब्ध ग्यास वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ । सिलिण्डरको म्याद सकिने मिति, ग्यासको तौल, फायर स्टिङ्ग्विसरको उपलब्धता, उपयुक्त स्थानमा राखिएको छ भने कि छैन, यसको म्याद कहिलेसम्म छ । जस्ता प्रज्वलनशील उपभोग गर्दाका अवस्था पनि हेर्नेछौँ । सिलिण्डर भण्डारण र ढुवानीका जोखिम बुझाउँछौँ ।”
जोशीका अनुसार यस्ता विषयसँग सम्बन्धित सूचकका आधारमा चार वटै क्षेत्रबाट नियमित सहजीकरण गरिनेछ ।
सहजीकरण कार्यको प्रारम्भ गर्दै आज अनामनगर क्षेत्रमा भएका डिपोहरुको अवस्था हेरिएको थियो । यस क्रममा साना डिपोहरुमा ग्याँस उपलब्ध रहेको भेटियो । ठुला डिपोहरुमा भने जसरी पनि पाइने आशले उपभोक्ताहरुको घुइँचो थियो ।
यता नेपाल आयल निगमले विगतमा जस्तै मात्रा र परिमाणमा आपूर्ति भइरहेको जनाएको छ । माग र आपूर्तिमा असन्तुलन हुनुको कारणबारे निगमले उपभोक्तामा माग बढेको जनाएको छ ।