जनता अप्ठ्यारो अवस्थामा हुँदा प्रधानमन्त्री सामाजिक सञ्जालमै सीमित हुनुभयो : सांसद शर्मा

11

काठमाडौँ, १९ साउन । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्ला दिनहरूमा देशमा भइरहेका दुःखद्‌ घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सुनसरीको देवागञ्ज घटनापछि मधेसका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दल, नागरिक समाज, सरकार तथा सम्बन्धित सङ्घ–संस्थाको पहलका कारण अवस्था नियन्त्रणउन्मुख भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशमा एकपछि अर्को दुःखद घटना घटिरहेको छ । सुनसरीको देवानगञ्ज घटेको घटनापश्चात मधेसभर फैलिएको साम्प्रदायिक घटनालाई जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकार विभिन्न सङ्घसस्थाको सचेत पहलमा नियन्त्रणउन्मुख छ ।”

उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

शर्माले सङ्कटका बेला प्रधानमन्त्रीको सक्रिय उपस्थितिको अपेक्षा जनताले गरेको भए पनि त्यसअनुसारको भूमिका नदेखिएको आरोप लगाउनुभयो ।

“सदनले मात्र होइन, आम नेपाली जनता अप्ठ्यारो र दुःख–सुखमा अभिभावकका रूपमा प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजेका छन् । तर, प्रधानमन्त्री सामाजिक सञ्जाल र स्टाटसमै सीमित हुनुभएको छ,” उहाँले भन्नुभयो ।

उहाँले विधिको शासनको कुरा गर्ने सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेको आरोप पनि लगाउनुभयो । उहाँले सरकारमाथि न्यायपालिकालाई प्रभावित पार्ने प्रयास भएको दाबी गर्दै त्यसप्रति गम्भीर ध्यान दिन आग्रह गर्नुभयो ।

“विधिको शासन कुरा गर्ने सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेर हुर्मत लिने काम गरेको छ,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...