काठमाडौँ, १५ साउन । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशेपानी निकासका लागि छुट्टाछुट्टै पाइप प्रणाली निर्माण गरिने बताउनुभएको छ ।
उहाँले अहिले अधिकांश स्थानमा ढल र वर्षाको पानी एउटै प्रणालीबाट बगाइने भएकाले सामान्यभन्दा बढी वर्षा हुनासाथ निकास प्रणालीले भार धान्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
त्यस्ता समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको बताउँदै उहाँले त्यस्ता स्थानमा गुरूयोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यवाहक उपप्रमुख डङ्गोलले दीर्घकालीन समाधानका लागि ढल र वर्षाको पानी व्यवस्थापनलाई छुट्टाछुट्टै प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउँदै सरोकारवाला निकायबीच समन्वय गरी यस्ता पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।
सहरीकरणको तीव्र विस्तारसँगै पुरानो ढल प्रणालीले अहिलेको आवश्यकता धान्न नसकेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डङ्गोलले दीर्घकालीन सोचका साथ आधुनिक वर्षा पानी व्यवस्थापन प्रणाली (स्टर्म वाटर ड्रेनेज) विकास गर्नुपर्नेमा जोड दिनुभयो । अतिक्रमणका कारण पनि यस्ता समस्या उत्पन्न हुने गरेको उहाँको तर्क थियो ।