जनकपुरधाम, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री युवराज भट्टराईले आज प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवद्र्धन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गर्नुभएको हो । चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रूपैयाँ र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रूपैयाँ विनियोजन गरिएको छ ।
खर्चका स्रोतमध्ये आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख रूपैयाँ, राजस्व बाँडफाँट १२ अर्ब ८३ करोड रूपैयाँ, विय समानीकरण नौ अर्ब ४९ करोड ५९ लाख रूपैयाँ र गत वर्षको नगद मौज्दात छ अर्ब आठ करोड ५२ लाख रूपैयाँ अनुमान गरिएको छ ।
प्रदेश सरकारले सुशासन कायम गर्न ‘हेलो सिएम एप’ र ‘हेलो मुख्यमन्त्री टोल फ्रि नम्बर’ सञ्चालन गर्ने घोषणा बजेटमार्फत गरेको छ । अर्थमन्त्री भट्टराईले १८ देखि ३५ वर्षका युवालक्षित सय दिने रोजगारी ग्यारेन्टी कार्यक्रम पनि घोषणा गर्नुभएको छ ।
‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गरी आगामी आवमा ‘शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशील नारी समृद्ध प्रदेश’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आगामी आवमा रु। एक करोड भन्दा कम लागतका योजनामा बजेट विनियोजन नगरिएको, नयाँ सवारी साधन खरिद नगरिने र अनुत्पादक खर्च कटौती गरी पुँजी निर्माणमा लगाइने अर्थमन्त्रीले जानकारी दिनुभयो । प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशत वृद्धि गरिएको छ ।